October 8th, 2024

वालेटबाट हुने कारोबारको सीमा बढाइयोः दैनिक ३० पटकसम्म पैसा जम्मा सकिने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रमुख चाडपर्व दशैं–तिहार र छठ पर्वसम्म लागू हुने गरी भुक्तानी सेवाप्रदायक(वालेट)मार्फत हुने कारोबारको सीमा बढाएको छ ।

सामान्य दिनमा दैनिक १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकोमा अब चाडपर्व अवधिभर दैनिक ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने भएको हो ।

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो । दशैंका लागि २१ असोजदेखि १ कात्तिक (कोजाग्रत पूर्णिमाको दिन)सम्म यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै, १५ कात्तिकदेखि २२ कात्तिकसम्मका लागि वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उल्लेख छ । यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन संस्थाहरूलाई परिपत्र पनि जारी गरेको छ ।