
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा राखेर ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सुनचाँदीको मूल्य वृद्धिसँगै बैंकहरूले दिने कर्जा पनि बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को साउनसम्ममा बैंक, वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा ६० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाली समाजमा सुन तथा चाँदीलाई मुख्य गरी गहनाका रूपमा प्रयोग गर्ने भए पनि यसलाई अप्ठ्यारो पर्दा तुरुन्त नगदमा परिणत गर्न सकिने भएकाले बचतका रूपमा समेत लिइन्छ । सर्वसाधारणले पैसा बचत हुँदा सुन किन्ने र अप्ठ्यारो पर्दा त्यही धितो राखेर ऋण लिने चलन छ ।
सुनलाई नगदसरह मानिने र लगानी सुरक्षित हुने भएकाले बैंकहरूले प्राथमिकता दिएर यसमा लगानी गर्दै आएका छन् । शुरूशुरूमा सुन किनेको पसलबाट धितो राखेर कर्जा लिने सर्वसाधारण विस्तारै बैंक, वित्तीय संस्थामा आकर्षित हुन थालेका हुन् । बैंकहरूले उपभोग्य शीर्षकअन्तर्गत छोटो समयका लागि सुन धितो लिएर कर्जा दिने गरेका छन् ।


