२०८१ आश्विन २० गते

सेयर बजारमा नयाँ टीएमएसः कारोबार प्रणालीमा नेप्सेको एकाधिकार हट्यो

बैंकिङ खबर/ सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो ।

नयाँ कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न साउनमै स्वीकृति पाएको उक्त सेक्युरिटिजले प्राविधिक परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि आइतबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याउन लागेको नेपाल स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका सेक्योर्ड सेक्युरिटिजका कार्यकारी अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए ।

उक्त कम्पनीमार्फत ब्रोकर खाता सञ्चालन गरी कारोबार गर्दै आएका लगानीकर्ताले आजदेखि नयाँ युजरनेम र पासवर्ड प्रयोग गरेर कारोबार गर्नसक्ने उनले जानकारी दिए । यसका लागि कुनै थप शुल्क नलाग्ने उनको भनाइ छ ।

हालको टिएमएसबाट सेयर किनबेच आदेश दिने सामान्य काम मात्रै हुँदै आएको छ। अब ब्रोकरहरूले सञ्चालनमा ल्याउने भनिएको टिएमएसमा चार–पाँच वटा नयाँ विशेषता हुनेछन्। यी टिएमएसको मोबाइल एप, डेस्कटप भर्सन र वेब भर्सन तीन वटै हुनेछन्।त्यस्तै, प्राविधिक विश्लेषण गर्न जान्नेहरूको लागि प्राविधिक विश्लेषणका औजारहरू समेत उपलब्ध हुनेछ। लगानीकर्ताले कुनै सेयर अहिले बिक्री गरेको छ भने केही समयमै त्यो बराबरको रकम लगानीकर्ताको खातामा धरौटीको रूपमा देखिनेछ।

लगानीकर्ताले सो रकमबाट तुरून्तै सेयर किन्न सक्नेछ। अहिले जसरी धरौटी थपिरहनु पर्ने छैन। त्यस्तै, यस्तो एउटै टिएमएसमा परिवारका टिएमएस खाता समेत आबद्ध गरेर उनीहरूकै नाममा समेत कारोबार गरिदिन सकिनेछ। अहिले हरेकले अलगअलग टिएमएस खोलेर किन्ने बेच्ने गर्नुपर्ने बाध्यता छ।