
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा नेपालबाट बाहिरिने रेमिट्यान्स घटेको छ । समीक्षा महिनामा त्यस्तो रेमिट्यान्स ५८ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएको छ ।
गत आवको साउन महिनामा नेपालबाट ८३ करोड १९ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो । चालु आवको साउन महिनामा भने ३५ करोड रुपियाँ मात्रै रेमिट्यान्स बाहिरिएको छ । गत आव भरीमा नेपालबाट ६ अर्ब ६ करोड रेमिटयान्स बाहिरिएको थियो ।
नेपालमा रेमिट्यान्स आप्रवाह उच्च हुने गर्छ । गत आवमा १४ खर्ब ४५ अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स आएको थियो । यो साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । यसरी नेपालीले विदेशमा काम गरेर पठाउने रेमिट्यान्स बर्षेनि बढ्दै गएको छ । सोही मुलुक अर्थात् नेपालबाट रेमिट्यान्स पनि बाहिरिन्छ ।
नेपालमा श्रम स्वीकृत लिएर काम गर्न आएका विदेशी कामदारले कमाएको पैसा आफ्नो देश पठाएका हुन् । उनीहरुले कमाएको पैसा मध्ये ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । बाँकी रकम भने उनीहरुले यहाँ आवास लगायतका शीर्षकमा खर्च गर्नुपर्छ । श्रम विभागले हालसम्म २१ हजार १५८ जना विदेशीलाई नेपालमा काम गर्न श्रम इजाजत दिएको छ । तर, त्यसमा कति श्रम इजाजत नविकरण भयो भन्ने तथ्यांक भने बिभागले सार्वजनिक गरेको छैन ।
नेपालमा विशेष गरी चीन, लण्डन, अमेरिका, कोरिया, जापान र भारतबाट धेरै कामदार आउने गर्छन् । पछिल्लो समय जलविद्युत् परियोजनाको निर्माणमा चिनियाँ प्राविधिक कामदारको उपस्थिति बढ्दो छ ।
यसैगरी विभिन्न पूर्वाधार परियोजनाको निर्माणमा पनि विदेशी प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसका अलावा नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनी तथा परियोजनामा पनि विदेशी कामदार छन् । यसका अलावा नेपालका कम्पनी, उद्योग, परियोजनाले पनि विदेशबाट प्राविधिक तथा विज्ञ कामदार ल्याएर काम गरिरहेका छन् ।




