October 2nd, 2024

सेयर बजार फेरि माथि उठ्ला भन्ने आशा गरेको छुः प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा आफूलाई पत्यार नलागेको’ उल्लेख गरे । माओवादीप्रति लक्षित गर्दै ओलीले ‘कसैले ५ अर्ब रुपैयाँ खाने भो’ भनेर आरोप लगाइएको बताए ।
अध्यक्ष नियुक्तिका विषयमा सर्वोच्च अदालतले नै पहिलेकै प्रक्रिया अनुसार अघि बढ्न आदेश दिएकाले सोही अनुसार प्रक्रिया फेरि सुरु गरिएको उनले बताए ।

विषम परिस्थितिमा सेयर बजार घट्नु स्वाभाविक रहेको ओलीको भनाइ छ । परिस्थिति सामान्य भएपछि फेरि बजार बढ्ने आशा रहेको उनले बताए ।

‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढी-पहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने ।