October 1st, 2024

ब्याजदर घटेसँगै मुद्दती निक्षेपको अंश घट्दो


बैंकिङ खबर/ बैंक, वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर घट्न थालेसँगै कुल निक्षेपमा मुद्दतीको अंश घट्दै गएको छ । तरलताको अवस्था सहज भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै मुद्दतीको तुलनामा साधारण निक्षेपमा जोड दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउनसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दतीको अंश ५७ दशमलव ५ प्रतिशत रहेको छ । गत आवको साउनमा भने बैंकहरूसँग यस्तो निक्षेप ६१ दशमलव ३ प्रतिशत थियो ।

मुद्दतीको अंश घट्दै गएपछि अन्य प्रकृतिका बचतको अंश भने बढ्न थालेको छ । गतवर्ष साउनमा बैंकहरूको कुल निक्षेपमा २६ दशमलव ७ प्रतिशत मात्र साधारण बचत रहेकोमा चालू आवमा बढेर ३० दशमलव ३ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकको ब्याजदर निर्धारणसम्बन्धी निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने प्रावधान छ ।

बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि आधारदरसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ । २०८० साउमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ११ प्रतिशत रहेकोमा २०८१ साउनमा ७ दशमलव ६१ प्रतिशतमा झरेको छ । आधारदर घटेसँगै बैंकको कर्जाको ब्याजदर पनि कम भएको छ ।

२०८० साउनमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत पुगेकोमा २०८१ साउनमा भने घटेर ९ दशमलव ६८ प्रतिशत कायम भएको राष्ट्र बैंकले बताएको छ । यसबीचमा विकास बैंकहरूको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशतबाट ११ दशमलव शून्य ७ र फाइनान्स कम्पनीको १४ दशमलव ६६ बाट १२ दशमलव ३२ प्रतिशत कायम भएको छ ।