बैंकिङ खबर/आर्थिक वर्ष २०८१/८२ को पहिलो साउन महिनामा १ अर्ब ८३ करोड बराबरको थप बोनस शेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य ८२६ अर्ब ५२ करोड रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २६८ ओटा पुगेको छ । जसमा १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९१ ओटा जलविद्युत् कम्पनी, २२ ओटा उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूह छन्।
अघिल्लो आवको सोही अवधिसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २५४ ओटा थियो ।नेप्सेमा गत आवमा थप १४ वटा कम्पनी सूचीकृत भएका छन्।
उक्त वित्तीय विवरण अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५७.९ प्रतिशत छ भने जलविद्युतको १५.४ प्रतिशत हिस्सा छ । त्यसैगरी, तेस्रोमा लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.५ प्रतिशत छ ।
समीक्षा अवधिसम्ममा धितोपत्र बजारको समग्र बजार पूँजीकरण ४ हजार ७६५ अर्ब ९१ करोड कायम छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने बजार पूँजीकरण ३ हजार ४३ अर्ब १ करोड थियो ।
त्यस्तै,२०८० साउन मसान्तमा २ हजार ३३.१४ विन्दुमा रहेको नेप्से सूचक २०८१ साउन मसान्तमा ३ हजार दशमलव ८१ विन्दु कायम छ ।