बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिमा पुरानैले निरन्तरता पाएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्षका लागि आवेदन दिएर पाँचको सर्टलिस्टमा परेका तर अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा नआएका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो ।
समितिले बिहीबार सूचना जारी गर्दै यसअघि अन्तरवार्ता र प्रस्तुतीकरण प्रक्रियामा सहभागी नभएका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारीको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको नयाँ मिति तोकेको हो । उनीहरूलाई असोज १८ गते बिहान १० बजे अर्थ मन्त्रालय सिंहदरबारमा बोलाइएको छ ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति बनाइएको थियो । समितिले सर्टलिष्टमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ थिए ।
तर असार २ गते भएको अन्तरवार्तामा सुनियोजित ढंगले मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठबाहेक तीन जना अनुपस्थित भएका थिए । पछि असार ५ गते अनुपस्थित भएकाहरुको अन्तरवार्ता मिति तोकिँदा पनि पुनः अनुपस्थित भएका थिए । पछि समितिले नियुक्ति प्रक्रिया नै रद्द गरेको थियो ।
यसैबीच असार १७ गते अध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया रद्द गर्ने छनौट समितिको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो । छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टमा परेका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले रिट निवदेन दिएका थिए ।
तर सर्वोच्च अदालतले असार १८ मा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । २०८० पुस २१ गते तत्कालिन अध्यक्ष रमेश हमाल आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै रिक्त बन्न पुगेको बोर्ड अझै पनि नेतृत्वविहीन छ ।