बैंकिङ खबर/ सुपर मादी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । साथै सो बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश पनि छुट्याएको छ ।
कम्पनीले कात्तिक ५ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज १७ गतेसम्म सेयर होल्ड वा खरिद गरेका लगानीकर्ता साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।
कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद निष्कासन गर्ने जनाएको छ ।
यसका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिनेगरी प्रस्ताव लगिँदैछ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ छ ।