September 24th, 2024

प्रथम गभर्नर स्व. हिमालय शमशेर जबराको कार्यकालका ५ अविस्मरणीय घटना


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयन शम्शेर जबराको स्मृतिमा  फर्स्ट हिमालय शमशेर मेमोरियल लेक्चर आयोजना गरेको छ । कार्यक्रममा भारतीय शक्तिकान्त दास समेत सहभागी भएका थिए । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको साढे २ वर्षअघि ९५ वर्षको उमेरमा निधन भएको थियो ।

वि.सं. २००७ साल फागुनमा नेपालमा युगान्तकारी परिवर्तन भएपश्चात् राजनीति र प्रशासन प्रणालीमा आमुल परिवर्तन आयो । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नवनियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकीय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा नयाँ प्रशासन प्रणाली तर्जुमा गरी लागू गर्ने अवसरहरु प्राप्त भयो ।

सोही समयमा ५ वर्ष देशको पहिलो अर्थसचिव भइ कार्यरत रहेका हिमालय शमशेर राणाले अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापना गर्न सकृय भूमिका निर्वाह गरेका थिए । त्यसपश्चात् नेपाल राष्ट्र बैंकको प्रथम गभर्नरमा नियुक्त भइ आफ्नो जिम्मेवारी सम्हालेका राणाले विभिन्न भोगाईहरु संगालेका थिए ।

नेपाल राष्ट्रमा पहिलो गभर्नर भएसँगै केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गरेका उनलाई नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरकै रुपमा चिन्नेहरुको ताँती ठूलो छ । १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

५ अविस्मरणीय घटना

घटना नम्बर १ :

वि.सं. २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहँदा अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न उनले सकृय भूमिका निर्वाह गरेका थिए । त्यसपश्चात् नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरमा नियुक्त भई सो बैंक संस्थापन गर्ने अवसर पाउनुभयो । यसबाहेक पनि उनले केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गर्नुभयो । तर, उहाँलाई नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरकै रुपमा चिनियो ।

राष्ट्र बैंकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै यस संस्थाको छापमा ‘असतोमा सद् गमय’ भन्ने निर्देशक बचन राख्न उनले नै लगाएका थिए । छापको डिजाइन स्व. बालकृष्ण समकी सुपुत्री कलाकार ज्वालाले गरेकी हुन् । उनको ४ वर्ष ८ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरु सम्पन्न गर्न सफल भए । उहिलेदेखि भारतीय रुपैयाँमा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैयाँलाई चलनचल्तीमा स्थापित गर्न सफल भए । तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अंग हो भन्ने तराईवासीहरुले अनुभव गर्न थालेका थिए ।

घटना नम्बर २ :

२०१६ सालमा नेरु–भारुको सटहीदर काठमाडौंको इन्द्रचोक र मखनटोलमा कारोबार गर्ने सराफी साहुहरुले आफैँला नाफा हुने गरी समयसमयमा सटही दर तोक्थे र त्यसमा सट्टावाजी पनि बढ्दै गएको थियो । सटहीको अस्थिरताले गर्दा बजारमा माल सामानको मोल साहु र बिक्रेताहरुले बढाउने र आम जनताले महंगीको भार खेप्नुपर्ने परिदृश्य थियो । नेपाल राष्ट्र बैंकले ३ वर्ष समग्र देश र प्रदेशहरुमा भारुको माग र आपूर्तिको गहिरो अनुसन्धान गरी १ सय ६० को दरमा नेरु–भारु असीमित परिवत्र्य हुने सहज व्यवस्था २०१७ वैशाखदेखि लागू गरेको थियो ।

त्यसबाट नेपालको उद्योगपति, व्यापारी र उपभोक्ताले नेरु–भारुको सटहीदरको अस्थिरताजन्य चिन्ता बेहोर्न नपर्ने भयो । यसले उनीहरुमा उत्साह बढाएको थियो । ५० वर्षभन्दा बढी मात्र नभएर हालसम्म यही सटहीदर कायम रहेकोमा बैंकले यथार्थवादी कदम चालेको थियो । यी दुबै कार्यक्रमहरु सम्पन्न गर्न राजमार्गहरु निर्माण भइनसकेको त्यस बेलाको नेपालमा दुर्भेद्य चुनौतिहरु थिए र कार्यक्रम सफल हुन सक्दैन भन्ने धेरै थिए ।

तीमध्ये, राष्ट्र बैंको अनुरोधमा भारतको रिजर्भ बैंक अफ इन्डियाबाट सल्लाहकारको रुपमा राष्ट्र बैंकमा केही वर्ष कार्यरत श्री पई पनि थिए । हुन सक्छ र गराउँछु भनेर उनले उनीसँग ५ रुपैयाँको बाजी राखेको थिएँ । २०१७ सालको असारतिर कलकत्ता जाँदा उनी आएर जबरालाई भारु ५ दिएका थिए ।

घटना नम्बर ३ :

२०१३ सालअघि देशको विदेशी मुद्राको सञ्चिती भारतको बैंकहरुमा जम्मा हुन्थ्यो । लण्डनस्थित नेपाली दूतावासको खर्च वा राजा त्रिभुवनको उपचारको खर्च बेहोर्न चाहिने विदेशी मुद्रा रकमको लागि भारतको रिजर्भ बैंक अफ इण्डियामा दरखास्त हाली प्राप्त गर्नुपर्ने थियो । राष्ट्र बैंक सञ्चालनमा आएपश्चात् भारतको आर्थिक मामला सचिव वि.के. नेहरुसँग रिजर्भ बैंक अफ इण्डियामा खाता खोल्नेबारे पत्राचार गरेका थिए र उनको अनुमति पत्र गएपछि त्यहाँ राष्ट्र बैंकको खाता खोलिएको थियो ।

त्यस्तै, बैंक अफ इङ्ग्ल्याण्डसँग खाता खोल्न पत्राचार गरेकोमा पहिले सो बैंकका दुई कर्मचारीहरु र केही पछि बेलायत सरकारको विदेश मन्त्रालयका अण्डर सेक्रेटरी काठमाडौं आएर हिमालय समशेरसँग अन्तरक्रिया गरेका थिए । उनीहरुबाट सकारात्मक प्रतिवेदन प्राप्त भएपछि बैंक अफ इङ्ग्ल्याण्डमा राष्ट्र बैंकको खाता खुल्यो । साथै, न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा पनि खाता खोल्न सफल भयौ । राष्ट्र बैंक सञ्चालनमा आएको त्यस्तै, ९ र १० महिनापछि नेपाल विदेशी मुद्रा सञ्चालनमा स्वतन्त्र भयो ।

घटना नम्बर ४ :

आर्थिक परामर्शदातासँग जिद्धि गरी बैंकमा आर्थिक रिसर्च विभागको स्थापना पनि उनले नै गरेका थिए । यस विभागले गरेको अध्ययन, अनुसन्धान र प्रस्तुत गरेको आर्थिक प्रतिवेदनहरु आर्थिक र वित्तीय क्षेत्रको लागि पथप्रदर्शक सावित भएको छ । बैंकका यी उपलब्धीको श्रेय इलामदेखि कैलालीसम्म शाखा, उपशाखा, सटही डिपोहरुमा र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई जान्छ ।

घटना नम्बर ५ :

सन् १९६० को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक सम्मेलनमा भाग लिँदा जापानको केन्द्रीय बैंकका गभर्नर यामामोटोसँग हिमचिम भयो र उनको निमन्त्रणामा केही दिन टोकियोमा रहँदा जापानको उत्तरोत्तर सशक्त हुँदै गएको निर्यात व्यापार र अर्थतन्त्रको विस्तृत जानकारी पाएका थिए ।

नेपाल फर्केपछि राष्ट्र बैंकले आफ्नो विदेशी मुद्राको सञ्चिती भारतीय, बेलायती र अमेरिकी मुद्रामा राख्ने गरेकोमा केही रकम जापानी येनमा पनि राख्न लगाए । येनको दर बढ्दै गएपछि राष्ट्र बैंकलाई धेरै फाइदा भयो । राष्ट्र बैंक येनमा सञ्चिती राख्ने पहिलो केन्द्रीय बैंक भएछ । त्यसबेला बैंक अफ जापानमा कार्यरत र पछि १९७६ तिर एसियाली विकास बैंकको अध्यक्ष भएका योशिदाले पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठसँगको भेटमा येनमा विश्वास गरी पहिलो डिपोजिटर हुन निर्णय गर्ने राष्ट्र बैंकका गभर्नरबारे सोधपुछ भएछ ।