September 20th, 2024

तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति ?

बैंकिङ खबर/ गत वर्ष आर्जन गरेको नाफाबाट म्युचुअल फन्डहरुसहित नेप्सेमा सूचीकृत ३ दर्जनभन्दा बढी कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेप्सेमा अहिले २४५ कम्पनी सूचीकृत रहेका छन् ।

हालसम्म २३ म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् । यी मध्ये १९ वटाले बुक क्लोज गरिसकेका छन् । केहीको बुक क्लोज हुन बाँकी छ भने केहीले बुक क्लोज मिति नै घोषणा गरेका छैनन् । म्युचुअल फन्डहरुमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ । यसले गत वर्षको नाफाबाट इकाइधनीलाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस्तै, एनआइसी एसिया सेलेक्ट ३० ले १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । वाणिज्य बैंकहरुमध्ये अहिलेसम्म एभरेष्ट बैंकले मात्रै लाभांश घोषणा गरेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ भने असोज ८ गते बुक क्लोज गर्दैछ ।

यसैगरी, हालसम्म ६ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने ६ हाइड्रोपावरमध्ये सबैभन्दा धेरै लाभांश भगवती हाइड्रोपावरले गरेको छ । यसल गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस र १०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यस्तै कामना सेवा विकास बैंक, गुरासँ लघुवित्त, ओरियन्टल होटेल, हाथवे इन्भेष्मेन्ट, नेपाल ल्यूब आयलले पनि गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । सानिमा रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्सले भने अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।