September 18th, 2024

होसियार : कृषि लोन मिलाइदिन्छु भन्दै ठगी गर्लान !

बैंकिङ खबर/ कृषि लोनका नाममा ठगी गर्ने गरेको पाइएको छ । ऋण लोन मिलाइदिन्छु भन्दै राष्ट्र बैंकको नक्कली स्विफकोड देखाएर ठगी व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ बस्ने ४८ वर्षीय विष्णुबहादुर कार्की रहेका छन् । उनले अमेरिकन कम्पनीबाट करोडौं कृषि ऋण मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

ऋण मिलाइदिन्छु भनेर राष्ट्र बैंकको नक्कली स्विफकोड देखाएर कार्कीसहित दुईजना मिलेर १७ लाख ३१ हजार ठगेको उजुरी प्रहरीमा छ । उक्त ठगी प्रकरणमा बाजुराको बुढीनन्दा–१ घर भएका कार्कीसँग मिलेर काठमाडौं नागार्जुन नगरपालिका–९ दुर्गानगर घर भएका ५५ वर्षीय नारायणप्रसाद खतिवडा समेत संलग्न रहेको पाइएको छ ।

आरोपीहरूले सिन्धुलीको कमलामाई नगरपालिकामा सञ्चालित ‘सिन्धुली बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्न अमेरिकन कम्पनीबाट १० लाख ९९ हजार अमेरिकी डलर मिलाउँछु भनेर ठगेका हुन् ।

खतिवडाले आफुले पीएचडी गरेको एकजना ठुलो मान्छे चिनेको र अमेरिकन कम्पनीबाट ऋण दिलाइदिने भन्दै त्यसबापत ६ करोड दिनुपर्ने बताएका थिए । मासिक २ दशमलव ५ प्रतिशत ब्याजदरमा १४ करोड ५१ लाख ९८ हजार नेपाल रुपैयाँ बराबरको डलर ऋण पाउने भएपछि फर्म सञ्चालक ६ करोड कमिसन दिन राजी भएका थिए । त्यसपछि कार्की र खतिवडाले विभिन्न बहानामा उनीहरूसँग रकम लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अमेरिकन कम्पनी पिएटी (प्रोसेस अटोमेशन टेक्नोलोजिज) सँग समन्वय कार्कीले वैदेशिक ऋण मिलाइदिने आश्वासन दिएर ठगी गरेका हुन् । जाहेरवालालाई विश्वास दिलाउन उनीहरुले राष्ट्र बैंकको नक्कली स्टेटमेन्ट र स्विफ्टकोड देखाएको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको हो ।