September 16th, 2024

यस्ता छन् खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रिया

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ‘खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली-२०८१’ व्यवस्था जारी गरेको छ । बैंकले  एक विज्ञप्ति जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र पारदर्शी बनाउँन सो व्यवस्था जारी गरेको जनाएको हो ।

यो विनियमावली यही असोज १ गतेदेखि लागू हुने बैंकले जनाएको छ । खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था विनियमावलीमा उल्लेख गरिएको छ ।

प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने राष्ट्र बैंकले जारी गरेको व्यवस्था विनियमावलीमा उल्लेख गरिएको छ ।

यस्ता छन् खाता रोक्का वा फुकुवासम्बन्धी प्रक्रिया

खाता रोक्का वा फुकुवामा प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण उल्लेख गर्नुपर्नेछ । साथै, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण खुलाई फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर पेश गर्नुपर्ने विनियमावलीमा उल्लेख गरिएको छ ।

कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण हुनु पर्नेछ ।

इजाजतपत्रप्राप्त संस्थाहरुको र भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थाहरुमा रहेको खाता रोक्का नहुने खाता रोक्कासम्बन्धी विशेष व्यवस्था रहेको राष्ट्र बैंकले जारी गरेको विनियमावलीमा उल्लेख गरिएको छ ।

11.DC_-NOtice2081.05.31