September 11th, 2024

बैंकिङ कसुर विधेयक : जिल्ला अदालतमै मुद्दा लाग्ने

बैंकिङ खबर/बैंकिङ कसुरको मुद्दा दर्ता गर्न अब काठमाडौं आउने बाध्यता अन्त्य हुने भएको छ । हाल चलनचल्तीमा रहेको ऐनमा बैंकिङ कसुरको मुद्दा ‘तोकिएको अदालत’ मा चल्ने व्यवस्था रहेको छ ।

त्यसअनुसार उपत्यकाभित्रको अदालतलाई तोकिँदा बाहिरका मानिसहरूले पनि काठमाडौं आउनुपर्ने बाध्यता छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका छन् ।

उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले संशोधनसहित पारित गरेको थियो । सभापति चालिसेले भने, ‘अब देशैभरिका जिल्ला अदालतमै मुद्दा लान सकिने बनाएकाले सजिलो हुन्छ ।’

चालिसले चेक अनादरको मुद्दालाई पनि सरकारवादी बनाइएकाले अब पीडितले आफैँले वकिल खोजेर खर्च धेरै गर्नुपर्ने अवस्था पनि नरहने दाबी गरे।
चेक अनादरसम्बन्धी मामिलामा यसअघि फरकफरक तरिकाले कानुनी उपचारमा जान सकिने प्रावधानहरू रहेको भन्दै सर्वोच्च अदालतले त्यसमा एकरूप कायम गर्न आदेश दिएको थियो।

उक्त कुरालाई विधेयकको ’सैद्धान्तिक अवधारणा’मा पनि उल्लेख गरिएको छ। त्यसमा चेक अनादरलाई ‘भिन्नभिन्न कानुनले अलगअलग कसुर’ का रूपमा परिभाषित गर्दा गलत अभियोजन हुन गएको कुरालाई अदालतले स्मरण गराएको पनि उल्लेख छ ।