September 8th, 2024

सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्छः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने बताएका छन् । विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगाएतसँग छलफलका क्रममा उनले सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिए ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो । छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्त्वपूर्ण हुने भन्दै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए । सहकारीबाट ऋण लिनेले तिर्नु पदैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा समेत अर्थमन्त्री पौडेलले जोड दिएको समिति संयोजक थापाले बताए ।