September 4th, 2024

८ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय

बैंकिङ खबर/साउनमा निर्जीवन बीमा व्यवसायमा सुधार आएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको साउनमा निर्जीवन बीमा कम्पनीको प्रिमियम संकलन ८.१७ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको साउनमा १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा गरी १८ कम्पनीले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ करोड ५७ लाख रुपैयाँ धेरै हो । गत वर्ष साउनमा निर्जीवन बीमा कम्पनीले कुल ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको साउनमा १४ निर्जीवन बीमा कम्पनीले कुल ४ अर्ब २६ करोड रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । चालु आवको साउनमा निर्जीवन बीमा कम्पनीहरुले कुल २ लाख ४१ हजार ३१४ वटा पोलिसी बिक्री गरेका छन् । यो गत वर्षको साउनकोभन्दा २७ हजार ४८६ वटा धेरै हो । गत वर्ष साउनमा २ लाख १३ हजार ८२८ वटा पोलिसी बिक्री गरेका थिए ।

निर्जीवन बीमा व्यवसायमा आफ्नो वर्चश्व राख्दै आएको शिखरलाई यसपटक सगरमाथा लुम्बिनी (सलिको)इन्स्योरेन्सले उछिनेको छ । साउनमा सलिकोले सबैभन्दा धेरै ६३ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरकोभन्दा २६ करोड २७ लाख रुपैयाँ धेरै हो ।

त्यस्तै, सिद्धार्थ प्रिमियरले पनि व्यवसायमा शिखरलाई उछिनेको छ । ४५ करोड ३२ लाख बीमा शुलक उठाउँदै सिद्धार्थ प्रिमियर दोस्रो धेरै व्यवसाय गर्ने कम्पनी बनेको छ ।
विगतमा व्यवसायमा पहिलो स्थानमा रहँदै आएको शिखर साउनमा तेस्रो स्थानमा पुगेको छ । शिखरले ३६ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

साउनमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३२ करोड ६० लाख, नेकोले ३१ करोड ८८ लाख, आइजीआइ प्रुडेन्सियलले ३० करोड ६२ लाख, ओरिएण्टलले २९ करोड १० लाख, नेपालले २८ करोड ८६ लाख, राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख, यूनाइटेड अजोडले २५ करोड ४१ लाख र एनएलजीले २४ करोड ९८ लाख, नेशनलले २२ करोड ७६ लाख र सानिमा जीआइसीले १८ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । साउनमा प्रभु इन्स्योरेन्सले सबैभन्दा कम १० करोड ५४ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन गरेको छ ।