September 2nd, 2024

लघुवित्त क्षेत्रमा फेरि अराजक गतिविधि बढेपछि चार संगठनको विरोध


बैंकिङ खबर/ लघुवित्त क्षेत्रमा पुनः आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले विरोध जनाएका छन् । कर्मचारी तर्साउने तथा धम्क्याउने गरेपछि उनीहरुले खेद प्रकट गरेका हुन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स, डेभलपमेन्ट बैंकर्स, नेपाल वि त्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ त्यस्ता घटनाको विरोध गरेका हुन् ।

विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुयाउने जस्ता अराजक क्रियाकलाप विरुद्ध खेद प्रकट गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका अराजक गतिविधि भइरहेको छ । यस्ता कार्यहरु निन्दनीय छन् ।’

अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुयाउने जस्ता कृयाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न हुने उनीहरुको बुझाई छ। यसले ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ्ग क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

Joint Press Release 02 Sep 2024 - Final