August 27th, 2024

नाडा लक्षित गाडी कर्जामा बैंकहरुबीच तीब्र प्रतिस्पर्धा

बैंकिङ खबर/ काठमाडौंमा मंगलबारदेखि शुरु भएको नाडा अटो शो लक्षित गाडी कर्जालाई लिएर बैंकहरुबीच प्रतिस्पर्धा देखिएको छ। आफ्ना ग्राहकहरुलाई गाडी कर्जा सहजै उपलब्ध गराउने उद्देश्यले यस पटकको नाडा अटो शोमा ६ वाणिज्य बैंक र १ विकास बैंकले स्टल नै लिएर सेवा प्रवाह गरेका छन्।

गाडी कर्जाको स्किम लिएर नाडा अटो शोमा सामेल बैंकहरुमा हिमालयन, ग्लोबल आइएमई, नबिल, सानिमा, माछापुच्छ्र्रे, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंक रहेका छन्। यी सातवटा बैंकहरुले न्युनतम ७.९९ प्रतिशतदेखि अधिकतम साढे १० प्रतिशतसम्मको ब्याज र ८ वर्षसम्म अवधिको लागि सवारी कर्जाको स्किम ल्याएका छन्।

माछापुच्छ्रे बैंकले नाडा अटो शो लक्षित चारपांग्रे सवारीका लागि ९ प्रतिशत ब्याज अफर गरेको छ। बैंकले आफ्नो ८ प्रतिशतको आधारदरमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो। बैंकको नियमित सवारी कर्जा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर छ।

त्यस्तै बैंकले विद्युतीय सवारीमा ६ बर्षको लागि र मूल्यको ७० प्रतिशत कर्जा तथा इन्धनको लागि ८ वर्ष अवधिका लागि र मूल्यको ५० प्रतिशत कर्जा प्रदान गर्ने जनाएको छ। अरु बेला ०.७५ प्रतिशतसम्म सेवाशुल्क लिइरहेको माछाले नाडा अटो शोमा ०.२५ प्रतिशत मात्रै लिने भएको छ।

सानिमा बैंकले ७ वर्षका लागि ८.४९ प्रतिशतदेखि १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने भएको छ। सानिमाले ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.४९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ। परिवर्तित ब्याजदरमा भने ८.५५ प्रतिशतको आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराऊने भनेको छ। सानिमाले पनि ०.२५ प्रतिशत शेवाशुल्क लिने जनाएको छ।

नबिल बैंकले नाडा अटो शो मा ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ। यो अफर विद्युतीय र इन्धन दुवैका लागि हुनेछ। स्थिर ब्याजदरका लागि मात्रै कर्जा स्किम ल्याएको बैंकले सेवाशुल्क ०.५ प्रतिशतसम्म लिने जनाएको छ।

ग्लोबल आइएमई बैंकले नाडा अटो शो मा न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिने भएको छ। विद्युतीय सवारीमा ५ वर्षसम्मका लागि ७.९९ प्रतिशत र त्यसभन्दा बढी अवधिको लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। इन्धन सवारीका लागि भने बैंकले ५ वर्षका लागि ८.४९ प्रतिशत र सोभन्दा माथि भए ९.४९ प्रतिशत ब्याजदर लिने जनाएको छ। सेवाशुल्क भने बैंकले ०.५ प्रतिशत लिने जानेको छ।

लक्ष्मी सनराइज बैंकले नाडा अटो शो मा विद्युतीय सवारीलाई ७ वर्ष अवधिको लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै कर्जा दिने जनाएको छ। बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिने जनाएको छ। त्यस्तै इन्धन सवारीमा ८.२५ प्रतिशतको आधारदरमा १ प्रतिशत प्रिमियम थप गरेर ९.२५ प्रतिशतको ब्याजमा कर्जा दिने भएको छ।

हिमालयन बैंकले नाडा अटो शो मा परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। बैंकले विद्युतीय सवारीका लागि ८८३ प्रतिशतको आधारदरमा ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिने जनाएको छ।

महालक्ष्मी विकास बैंकले नाडा अटो शो मा एकल अंकमै अर्थात ९ दशमलव ९९ प्रतिशतको ब्याजदर मै सवारी कर्जा उपलब्ध गराउने जनाएको छ।