August 22nd, 2024

बढ्दो डिजिटल कारोबारः क्यूआरको अत्याधिक प्रयोग

बैंकिङ खबर/ पछिल्लो १ वर्षको अवधिमा वालेट प्रयोगकर्ता २३‍.८६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वालेट प्रयोगकर्ता १ करोड ८९ लाख ४१ हजार ७९३ रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ मा बढेर २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा वर्षमा वालेटबाट ३१ अर्ब ३० करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा वालेटबाट हुने कारोबार ५४ प्रतिशतले बढेको छ।

तथ्यांकअनुसार क्यूआरबाट हुने भुक्तानी १०० प्रतिशतभन्दा बढीले बढेको छ। अघिल्लो वर्ष क्यूआरबाट ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएकोमा समीक्षा वर्षमा बढेर ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १९ लाख १९ हजार ३२२ पुगेको छ। अघिल्लो वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १८ लाख ५६ हजार १९५ रहेको थियो।

समीक्षा वर्षमा मोबाइल बैंकिङको प्रयोग गरेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँबराबरको भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६० प्रतिशतभन्दा बढीले बढेको छ।

इन्टरनेट बैंकिङबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङबाट १५ अर्ब ५० करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको थियो। इन्टरनेट बैंकिङबाट हुने कारोबार करिब साढे १४ प्रतिशतले बढेको छ।