August 21st, 2024

साउन महिनामा तीन कम्पनीको बोनस शेयर सूचीकृत

बैंकिङ खबर/ साउनमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६५८ दशमलव शून्य ७ कित्ता, आईएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता र सन नेपाल लाइफको ७६ लाख १६ हजार बोनस शेयर मात्र सूचीकृत भएको हो ।

प्रभु इन्स्योरेन्सको बोनस शेयर साउन २३ गते, आईएमई लाइफको साउन २७ गते र सन नेपाल लाइफको साउन २९ गते सूचीकृत भएको हो । पुसपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनका लागि अनुमति पाएका थिए ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवादित बनेसँगै निष्कासन प्रक्रिया स्थगित भएको छ भने सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गरी भदौ २ गते दोस्रो बजारमा सूचीकृत गराएको छ ।

सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाउन बोर्ड यतिबेला अघि नबढेको अवस्था छ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ स्वीकृति प्रक्रिया विवादित बनेसँगै बोर्डले स्वीकृति प्रक्रिया रोकेको देखिन्छ ।

यी दुई कम्पनीबाहेक आँखुखोला जलविद्युत कम्पनी र हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्कासनका लागि पुसपछि बोर्डबाट अनुमति पाएका हुन् । हाल यी दुई कम्पनीको हकप्रद शेयर सार्वजनिक निष्कासनमा छ ।