August 20th, 2024

शेयर बजार : भित्री कारोबार गरेको ठहरे जरिवाना र कैद

बैंकिङ खबर/ अब शेयर बजारमा भित्री कारोबार गर्नेलाई बिगो नखुले ५० लाखदेखि तीन करोड रूपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय तोकिने भएको छ ।

हालै संघीय संसदको प्रतिनिधि सभामा संशोधनको लागि दर्ता भएको धितोपत्र ऐनमा यस्तो व्यवस्था गर्न लागिएको हो। हाल यस्तोमा बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था थियो।

झुठो कारोबार, यसको कारण मूल्यमा उतारचढाव र धितोपत्र बजारलाई प्रभावित पारेमा बिगो बमोजिम जरिवाना हुने व्यवस्था गर्न लागिएको छ।
बिगो नखुले पाँच लाखदेखि ५० लाख रूपैयाँसम्म जरिवाना र तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। हाल एक लाख ५० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

जालसाजीयुक्त कारोबार, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार र लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा बिगो बमोजिम जरिवानाको व्यवस्था गरिएको छ।

बिगो नखुले १० लाखदेखि ५० लाख रूपैयाँसम्म जरिवाना, तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था गरिन लागिएको छ। हाल एक लाख रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

धितोपत्र निष्कासन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पाँच लाखदेखि २५ लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गर्न लागेको हो। हाल यस्तोमा ५० हजार रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

धितोपत्र ऐन वा नियम बमोजिम बोर्डले दिएको आदेश अनुसार जानकारी, कागजात वा विवरण नदिने सेयर जारी गर्ने प्रक्रियामा रहेका कम्पनी वा बोर्डबाट अनुमति पाएका संस्थाहरूलाई समयावधि तोकेर १० हजारदेखि ५० लाख रूपैयाँसम्म जरिवाना लगाउन सक्ने व्यवस्था गरिन लागिएको छ।

यस्तो विवरण दिन तोकिएको म्याद नाघेको १६ औं दिनदेखि ५० लाख नपुग्दासम्म दैनिक २५ हजार रूपैयाँको दरमा जरिवाना हुनेछ। बोर्डको आदेश पालना नगर्ने अनुमति प्राप्त गर्ने संस्थालगायतलाई सचेत गराउने देखि पाँच लाख रूपैयाँदेखि ५० लाख रूपैयाँसम्मको जरिवाना तोकिएको छ।