August 18th, 2024

एक वर्षमा ३२ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

बैंकिङ खबर/ गत आर्थिक वर्ष २०८०/०८१ मा विदेशी विनिमय सञ्चिति ३२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्धि भई १८४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

बाह्य लगानीको स्थिति

२०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २१७६ अर्ब ९८ करोड तथा दायित्व १८९० अर्ब ६० करोड छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २८६ अर्ब ३८ करोडले बचतमा छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १७७ अर्ब २ करोडले घाटामा रहेको थियो ।