March 16th, 2016

सरकारी बैँकमा राजनितीक दबदबा : कसले रोक्यो सिईओको नियुक्ति ?

rastriya banijya bankशिवहरि घिमिरे । चरम राजनीतिक हस्तक्षेपका कारण राष्ट्रिय बाणिज्य बैँकमा ३ महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुन नसकेको खुलासा भएको छ । विशुद्ध पैसाको कारोबार गर्ने राष्ट्रिय वाणिज्य बंैकमा मुख्य राजनीतिक दलहरुले आफ्नो मान्छेलाई नियुक्त गर्न तिब्र लविङ गरेका कारण सिइओ नियुक्तिमा ढिलाई भएको हो । 

बैंकमा खोलिएका विभिन्न राजनीतिक दलका भातृ संगठन युनियनहरुको दबदबाका कारण सिइओ नियुक्तिमा ढिलाई हुनु नै रहेको नाम नखुलाउने सर्तमा बैंकका एक कर्मचारीले बैंकिङ खबरलाई बताए । ‘बंैकमा सिइओ नियुक्त नहुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप नै हो’ उनले भने ‘युनियनहरुले आफ्नो पार्टीको मान्छेलाई सिइओ नियुक्त गर्न दबाब बढाएपछि विवाद बढेको र नियुक्तिमा ढिलाई भएको हो ।’

सिइओ नियुक्तिमा विवाद बढेपछि बैँकले नयाँ बोर्ड समिति समेत गठन गरेको थियो । समितीले सिइओका लागी आह्वान गरेको दर्खास्तमा १६ जनाले आवदेन दिएका थिए । जसमध्येबाट लिखित परीक्षाका आधारमा समितीले  ५ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको छ । ५ जनामा अनिल उपाध्याय, कृष्ण आचार्य, किरण श्रेष्ठ, बैँकका पूर्व सिईओ कृष्ण शर्मा र कायम मुकायम सिईओ भेषराज पन्थी रहेका छन् । तीमध्ये उपाध्याय, आचार्य र श्रेष्ठ एंमाले निकट हुन भने शर्मा र अहिलेका कायम मुकायम सिईओ पन्थी कांग्रेस निकटका हुन् ।

एमाले र कांग्रेसकै हानथापका कारण सिईओ नियुक्ति नभएपछि बैँक सञ्चालक समिती भने तनावमा परेको छ । खासगरी कांग्रेस र एमालेका शीर्ष नेताले दबाब दिने गरेकाले सञ्चालक समितीका सदस्य समेत आफु निकटको सिइओ नियुक्त गर्ने लबिङमा उत्रिएका छन् । 
यसबारेमा सञ्चालक समितीका अध्यक्ष रवीन्द्र प्रसाद पाण्डेको प्रतिक्रिया लिन खोज्दा उनले ‘आफु तत्काल यसबारेमा कुनै प्रतिक्रिया दिन नचाहेको’ बंकिङ खबरलाई बताए । ‘अहिले यो छलफलमै छ । समितीमा भएको छलफलले निर्णय गर्ने हो । त्यसैले अहिले म यसबारेमा केही बोल्दिन ।’ उनले भने ।

उनी पनि शीर्ष नेताकै दबाबमा रहेका बैकका कर्मचारीले बताउने गरेका छन् । लिखित परीक्षामार्फत ५ जनाको नाम सर्ट लिस्टमा सार्वजनिक गरेपनि १ महिना वितिसक्दा समेत सिईओ नियुक्त गर्न नसक्दा बोर्ड समितीमाथि नै प्रश्न उठेको छ भने सञ्चालक समिती अन्योलमा परेको छ । 

यसअघि पनि नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदका लागी व्यापक राजनीतिक चलखेल बढेको थियो । बैंकका कर्मचारीको हकहित र बैंकिङ सेवालाई चुस्त र दुरुस्त बनाउन भनेर स्थापना गरिएका युनियनहरुको विवादका कारण रिक्त पद पुर्ति हुन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।  खासगरी ठूल्ठुला कारोबार र आयोजनाका पैसा भुक्तानी दिन सिईओको सहभागिता आवश्यक मानिन्छ । तर सिईओ लामो समयदेखि नभएपछि बैँकका अन्य काम पनि समयमै हुन सकिरहेका छैनन् । सिईओ नियुक्तीमा थप विवाद लम्बिएमा सञ्चालक समितीको निर्णय नै अन्तिम हुने भएपछि समिती अध्यक्ष पाण्डेलाई भने मानसिक तनाब बढेको छ ।