बैंकिङ खबर/ बीमा कम्पनीहरुले करिब आठ खर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको सार्वजनिक तथ्यांक अनुसार उनीहरुले २०८१ असारसम्म विभिन्न क्षेत्रमा सात खर्ब ९० अर्ब ९६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको देखिएको हो ।
हाल नेपालमा दुई पुनर्बीमा, १४ जीवन, १४ निर्जीवन, तीन लघु जीवन बीमा र चार निर्जीवन लघु बीमा गरी ३७ बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनीहरुले मात्रै ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरुले ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
यसैगरी पुनर्बीमा कम्पनीले ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् । हालै सञ्चालनमा आएका निर्जीवन लघुबीमा कम्पनीले दुई अर्ब ९५ लाख रुपैयाँ र लघु जीवन बीमा कम्पनीले एक अर्ब ५८ करोड नौ लाख रुपैयाँ लगानी गरेको तथ्यांकमा उल्लेख छ ।
वाणिज्य बैंकको मुद्दती निक्षेपमा बढी लगानी
बीमा कम्पनीको सबै भन्दा धेरै लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा देखिएको छ । समीक्षा अवधीसम्म वाणिज्य बैंकमा रहेको बीमा कम्पनीहरुको निक्षेप पाँच खर्ब ३९ अर्ब ७८ करोड १२ लाख रुपियाँ रहेको छ, कूल लगानीमा यसको हिस्सा ६८.२४ प्रतिशत छ । त्यो अवस्थामा वाणिज्य बैंकहरुको व्याजदरमा आउने परिवर्तनले पनि बीमा कम्पनीहरुको आम्दानी प्रभावित हुन्छ ।
यस्तै, दोस्रो स्थानमा भने बैंक तथा वित्तीय संस्थाको ऋणपत्र रहेको छ । त्यसमा कम्पनीहरुले ५९ अर्ब पाँच करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन्, कुल लगानीमा यसको हिस्सा ७.४६ प्रतिशत छ ।
तेस्रो स्थानमा भने विकास बैंकमा रहेको निक्षेप छ, त्यहाँ बीमा कम्पनीहरुको लगानी ५१ अर्ब ५८ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीहरुले सूचिकृत पब्लिक कम्पनीको साधारण शेयरमा २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ, सूचिकृत पब्लिक कम्पनीको डिवेञ्चरमा १९ अर्ब ८६ करोड ४८ लाख रुपैयाँ, संस्थापक शेयरमा १४ अर्ब ८ करोड ११ लाख रुपैयाँ, पुर्वाधार क्षेत्रमा नौ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ, वित्त कम्पनीको निक्षेपमा आठ अर्ब २६ करोड ६१ लाख रुपैयाँ र सरकारी ऋणपत्रमा तीन अर्ब ६१ करोड ९३ लाख रुपैयाँ लगानी गरेका छन् ।
नागरिक लगानी कोष तथा म्यूचल फण्डमा तीन अर्ब ३२ करोड ५६ लाख रुपैयाँ, सूचिकृत नभएको पब्लिक कम्पनीको शेयरमा एक अर्ब ६१ करोड चार लाख रुपैयाँ र इन्भेष्टमेन्ट कम्पनीको शेयरमा एक अर्ब ५० करोड ५७ लाख रुपैयाँ लगानी भएको देखिन्छ । यो बाहेक अन्य बिभिन्न क्षेत्रमा बीमा कम्पनीहरुले थप ४५ अर्ब २४ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ।