August 11th, 2024

सेयर कारोबारमा उछाल, नेप्से २८०० माथि

बैंकिङ खबर/ सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि नयाँ रेकर्ड बनेको छ । आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ । यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो ।

कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ । नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो ।

नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो । यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो । गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो । यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान छ ।

यसदिन ३३० वटा धितोपत्रको ६ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो । बजार बढ्दा ९ कम्पनीमा सकारात्मक सर्किट लाग्दै २२५ कम्पनीको सेयर मूल्य बढेको छ । बढेको बजारमा पनि कुथेली बुखरी स्मल हाइड्रो पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै १५ कम्पनीको मूल्य घटेको छ।

आइतबार हिमालयन रिइन्सोरेन्सको १ अर्ब ५२ करोड र शिवम सिमेन्टको १ अर्ब १६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।