बैंकिङ खबर/ एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफामा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.३८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनको नाफाका कारण खुद नाफा बढ्न पुगेको हो।समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ।
१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्याङ्कन जगेडामा ६० करोड रुपैयाँ रहेको छ।