August 8th, 2024

लेखा समितिको निर्देशनपछि रोकियो जलविद्युत् कम्पनीको आईपीओ निष्काशन

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले सार्वजनिक लेखा समितिको निर्देशनले आईपीओ निष्काशनमा समस्या भएको बताएका छन्। बिहीबार बसेको अर्थसमितिको बैठकमा अध्यक्ष बरालले लेखा समितिले नेटवर्थ ९० भन्दा धेरै भएका कम्पनीहरुलाई मात्रै आईपीओ निष्काशन गर्न दिनु भन्ने निर्देशनका कारण जलविद्युत कम्पनीहरुको आईपीओ निष्काशन गर्न नसकिएको उल्लेख गरेका हुन्।

यसअघि पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा निष्काशन गर्न दिएको विषयमा धितोपत्र बोर्डलाई प्रश्न उठाएको थियो। लेखासमितिले त्यसपछि कम्पनीको नेटवर्थ ९० भन्दा बढी हुनुपर्ने उल्लेख गर्दै त्यस्ता कम्पनीलाई मात्रै आईपीओ निष्काशन गर्न बोर्डलाई निर्देशन दिएको थियो।

‘लेखा समितिले ९० भन्दा बढिको नेटवर्थलाई मात्रै निष्काशनको अनुमति दिनुपर्ने भनेपछि अधिकांश जलविद्युत् कम्पनी आईपीओ निष्काशनको अनुमति रोकिएको छ’, उनले भने। योबाहेक उनले बोर्डमा लामो समय नेतृत्व नहुँदा आईपीओ निष्काशनमा पर्याप्त तयारी गर्न नपुगेको कारण पनि निष्काशन रोकिएको बताए। अर्थसमितिमा अध्यक्ष बरालले धितोपत्र बोर्डमा भएको गुटबन्दीका कारण पनि अपेक्षित काम गर्न नसकेको बताए।