August 8th, 2024

गभर्नरले आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएः पूर्वअर्थमन्त्री पुन

बैंकिङ खबर/ पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन्।

बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएको बताए। ‘विगत शेरवहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले साथ दिनु भएन। प्रचण्डको सरकारलाई पनि गभर्नरले साथ दिनु भएन।अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आउनासाथ उहाँले अलिकति खुकुलो गर्नुभयो,’ उनले भने, ‘आफ्नो बाटोभन्दा विपरित खुकुलो नीति ल्याउनुभयो। यस्ता कुरामा जनताको प्रतिनिधि खुलेर बोल्नुपर्छ।’

उनले समग्रमा वित्तिय नीति र मौद्रिक नीतिको तालमेल मिलेको पनि बताए। उनले राज्यको निकायमा बसिसकेपछि जुनसुकै पृष्टभूमिको भएपनि जनता र राष्ट्रको बारेमा सोचेर काम गर्नुपर्ने भन्दै इगो लिएर काम गर्न नसक्ने बताए। पूर्वअर्थमन्त्री पुनले कुनै चलखेल र लेनदेनविना काम गर्ने राम्रो र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने बताए।