August 7th, 2024

विकास बैंक : कामना र गरिमा अब्बल, यस्तो छ अन्यको वित्तीय विवरण

बैंकिङ खबर/ राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये कामना र गरिमा अब्बल देखिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार ८ विकास बैंकमध्ये ७ वटाको स्थिति सबल देखिएको हो । ७ मध्ये सबैभन्दा अब्बल कामना सेवा विकास बैंक रहेको देखिएको छ ।

वित्तीय विवरणअनुसार कामना सेवाको लाभांश क्षमता अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १०.९१ प्रतिशत छ । विकास बैंकहरुमध्ये लाभांश क्षमतामा कामना सेवा पछि गरिमा विकास बैंक रहेको छ । गरिमाले गत आवको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश दिन सक्छ ।

लाभांश क्षमताको सूचीमा कामना सेवा र गरिमापछि क्रमशः शाइन रेसुंगा, लुम्बिनी, शांग्रिला, मुक्तिनाथ र महालक्ष्मी विकास बैंक छन् । उनीहरुको लाभांश क्षमता क्रमशः ८.१२, ७.४, ५.१८, ४.७१ र ४.२५ प्रतिशत रहेको छ ।

राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक मुक्तिनाथ रहेको छ । मुक्तिनाथले आर्थिक वर्ष २०८०÷८१ मा १ अर्ब २७ करोड नाफा गर्दा दोस्रो बढी नाफा गर्ने विकास बैंक गरिमा हो । गरिमाको नाफा १ अर्ब १३ करोड छ ।

नाफाको आधारमा शाइन तेस्रो, लुम्बिनी चौथो र कामना पाँचौं स्थानमा छन् । उनीहरुको प्रतिशेयर आम्दानी बाँकी विकास बैंकको भन्दा राम्रो छ । गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ हुँदा कामनाको १८.३८ रुपैयाँ छ ।