Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गरिबहरुका बैंकर मुहम्मदले लिँदै छन् बंगलादेश सरकारको नेतृत्व, उनै हुन् लघुवित्तका जन्मदाता

२०८१ श्रावण २२ गते


बैंकिङ खबर/ विश्वमै पहिलो पटक लघुवित्तको स्थापना गर्ने मुहम्मद युनुसले बंगलादेश अन्तरिम सरकारको नेतृत्व लिने भएका छन् । उनी नोबेल पुरस्कार विजेता समेत हुन् ।

८४ वर्षीय युनुस गरिबहरुको बैंकरका रुपमा चिनिन्छन्। उनले गरिबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरेर उनले विश्वमै ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए। प्राध्यापक समेत रहेका युनुसलाई यसैका लागि सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेपछि अन्तरिम सरकार गठन गर्ने र नयाँ निर्वाचनमा जाने बताएका थिए। उनले देशैभर लागेको कर्फ्यु अन्त्यको घोषणा गरिसकेका छन्।

यस्तै, राष्ट्रपति शाहबुद्दिनले विपक्षी दलकी नेतृ खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन्। आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका थिए।

उक्त भिडियो सन्देसमा विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन्। विद्यार्थी नेताले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न पनि राष्ट्रपतिलाई आग्रह गरेका छन्।

रोयटर्सका अनुसार विद्यार्थी नेताको माग अनुरुप नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न राखेको प्रस्ताव स्वीकारेका छन्। हाल उनी ओलम्पिक कमिटीको निमन्त्रणामा पेरिस गएको जनाइएको छ। उनी छिट्टै बंगलादेश फर्किन लागेको समेत बताइएको छ ।