बैंकिङ खबर/ परिस्थितिजन्य कारणले उद्योग बन्द भए पनि कर्जाको सावाँ ब्याज नियमित भए त्यस्तो कर्जालाई अब सूक्ष्म निगरानीमा राख्दा हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणा कार्यान्वयनका लागि बैंकहरूलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘कर्जा प्रवाह भई स्थापना भएको उद्योग/परियोजना/व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभएता पनि पूर्वनिर्धारित व्यवस्था बमोजिम कर्जाको सावाँ ब्याज नियमित रुपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग/परियोजना/व्यवसायमा प्रवाहित कर्जा सूक्ष्म निगरानीम वर्गीकरण हुनेछ,’ संशोधित निर्देशनमा छ ।
यसअघि यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गरी १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने थियो । अब भने ५ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुनेछ । यस्तै निर्माण व्यवसायीको जमानत दाबी भई सिर्जना भएको कर्जाको हकमा उक्त कर्जा आव २०८०/८१ का लागि ९० दिनसम्म असुली नभई खराब वर्गमा वर्गीकरण भइनसकेको अवस्थामा त्यस्तो कर्जालाई आव २०८१/८२ मा कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने भएको छ ।
प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरू फोर्स लोनको रूपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा निष्क्रिय कर्जामा वर्गीकरण गर्नुपर्ने हुन्छ । तर, निर्माण व्यवसायीको हकमा भने राष्ट्र बैंकले छुट दिएको हो ।