August 2nd, 2024

बैंकिङ प्रणालीमा एकै दिन ४ अर्बले घट्यो निक्षेप

बैंकिङ खबर/ साउन लागेसँगै बैंकहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३० अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १४ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा साउन १५ गते ६४ खर्ब ३० अर्ब संकलन भएको छ। राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा एक दिनमा ४ अर्बले निक्षेप संकलन घटेको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि ३ अर्बले घटेको छ। असार १४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १५ गते भने ५७ खर्ब निक्षेप संकलन गरेका छन्।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ । शुक्रबारसम्ममा ५१ खर्ब ४० अर्ब प्रवाह भएकोमा शनिबार २ अर्बले बढेर ५१ खर्ब ४२ अर्ब बराबरको कर्जा प्रवाह भएको छ ।

उक्त समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ। शुक्रबारसम्ममा ४५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले शनिबार ४५ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.४७ बाट बढेर ७८.५४ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशत कायम छ ।