August 1st, 2024

राष्ट्र बैंकको सर्कुलरः लघुवित्तको खराब कर्जा अनुपात घट्ने र नाफा बढ्ने

बैंकिङ खबर/लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात घट्ने र नाफा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको घोषणालाई कार्यान्वयनमा ल्याउँदै ‘घ’ वर्गमा पर्ने लघुवित्त वित्तीय संस्थाहरुका लागि बुधबार साँझ एक सर्कुलर जारी गरी खराब कर्जा अनुपात घट्ने र नाफा बढ्ने खालको नीतिगत व्यवस्था गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरुले यसअघि असल कर्जाका लागि समेत १.३ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्दै आएका थिए । केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई परिमार्जन गरी १.१ प्रतिशतमा सीमित गरिदिएको हो ।

यो व्यवस्थाले प्रभिजन गर्नुपर्ने रकम घट्न गई लघुवित्त वित्तीय संस्थाहरुको नाफा बढ्ने देखिन्छ । यस्तै, असल कर्जामा हुने प्रभिजन घटाउँदा यसको प्रभाव खराब कर्जा अनुपात घटाउनमा समेत देखिनेछ ।

राष्ट्रबैंकले सुक्ष्म निगरानीमा परेका कर्जाका लागि न्यूनतम कर्जा नोक्सानी ५ प्रतिशत हुनुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता समेत दिएको छ । कमसल वर्गका कर्जाका लागि २५ प्रतिशत, शंकास्पदका लागि ५० प्रतिशत र खराब कर्जाको हकमा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्थाले समेत निरन्तरता पाएको छ।

Circular-2-MFIs-Final-Upload