July 31st, 2024

निर्माण व्यवसायीलाई मंसिर मसान्तसम्म कालोसूचीमा नराख्न राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकका ऋणी रहेका निर्माण व्यवसायीलाई ६ महिनाका लागि राहत दिएको छ। केन्द्रीय बैंकले निर्माण व्यवसायीलाई बैंकको ब्याज तिर्ने समय मंसिर मसान्तसम्मलाई थप गरेको हो। राष्ट्र बैंकले निर्माण व्यवसायीलाई चेक अनादरको कारणले मात्रै मंसिर मसान्तसम्म कालोसूची नराख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित बिषयलाई कार्यान्यव गर्न नियामन विभागले परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो। बुधबार एकीकृत निर्देशन, २०८० मा संसोधन तथा परिमार्जन र थप व्यवस्था गर्दै राष्ट्र बैंकले निर्माण क्षेत्रलाई २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवाब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप भएको उल्लेख गरेको छ।

‘बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप गर्नुपर्नेछ।’ राष्ट्र बैंकले यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज/शुल्क/हर्जाना/ब्याजको ब्याज समेत लिन नपाउँने बैंकहरुलाई रोक लगाएको छ। तर, छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन उक्त व्यवस्थाले बाधा पर्‍याएको मानिने छैन। राष्ट्र बैंकले चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश नगरिने उल्लेख गरेको छ।