July 30th, 2024

नक्कली नोटको बिगबिगीः एक वर्षमा पाँच करोड बढी बरामद

बैंकिङ खबर/ नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय नक्कली नोटको बिगबिगी बढ्दै गएको छ । पछिल्लो एक वर्षमा पाँच करोड भन्दा बढी नक्कली नोट बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा प्रहरीले पाँच करोड २७ लाख ५९ हजार १११ रुपैयाँ बरामद गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा ४३५.९१ प्रतिशत अर्थात् ५.३५ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्षमा प्रहरीले ९८ लाख ४४ हजार ७०१ रुपैयाँ बरामद गरेको हो ।

गत आर्थिक वर्षमा नेपाली रकम पाँच करोड ८ लाख ७३ हजार रुपैयाँ, भारतीय रुपैयाँ ७० हजार २७२ रुपैयाँ र अमेरिकी १८ लाख १५ हजार ८३९ रुपैयाँ प्रहरीले बरामद गरेको हो । नक्कली नोट कारोबार गर्ने १६४ जनालाई गत आर्थिक वर्षमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अघिल्लो आर्थिक वषएमा भने १३७ जना नक्कली नोटको कारोबार गर्ने ब्यक्ति पक्राउ परेका थिए । पछिल्लो समयमा यस्तो कारोबार युवा अर्थात् १६ वर्षदेखि ३० वर्षका ब्यक्तिले बढी गर्ने गरेको प्रहरीले जनाएको छ ।