२०८१ श्रावण १३ गते

राष्ट्र बैंकको चाबी कहाँ छ मौद्रिक नीतिबाट स्पष्ट छः सांसद ढकाल

बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नियामक निकाय नेपाल राष्ट्र बैंक राजनीतिक प्रभावमा चल्न नहुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद ढकालले अर्थतन्त्रका तततत् क्षेत्रमा स्थायी नीति तय गर्न माग गरे।

गत ०७८ सालको मौद्रिक नीति र यस वर्षको मौद्रिक नीतिको तुलना गर्दै उनले नियामकहरूको ‘चाबी’ कसले राखेको छ भन्ने प्रस्ट भएको बताए। ०७८ सालमा निजी क्षेत्रलाई अंकुश लगाउने गरी आएको क्रूर मौद्रिक नीति सुधार गर्न आफूहरूले पटकपटक आवाज उठाउँदा सुनुवाइ नभएको बताउँदै ढकालले आफूलाई पायक पर्दा चाबी खोलिएको टिप्पणी गरे।

राष्ट्र बैंकले मौद्रिक नीति बनाउन अर्थ मन्त्रालयसँग सहकार्य गर्ने नगरेको भन्दै उनले भने, ‘अस्ति शुक्रबार आएको मौद्रिक नीति निजी क्षेत्रलाई उत्साह प्रदान गर्ने नै छ । तर, यहीबीचमा पूर्वअर्थमन्त्री यही गठबन्धनमा दाहिनेपट्टि हुनुहुन्छ । उहाँलाई म प्रश्न गर्न चाहन्छु– तपाईं अर्थमन्त्री बनिरहँदा नियामक राष्ट्र बैंकले जति सहकार्य गर्नुपर्थ्यो अर्थ मन्त्रालयमा, के गरेको थियो ? आज नियामकहरूको चाबी कहाँ हुँदोरहेछ, कसरी राखिँदोरहेछ र आफूलाई पायक पर्दा कसरी खोलिँदोरहेछ, गत शुक्रबारको मौद्रिक नीतिले स्पष्ट पारेको छ।’