बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले तय गरेको कार्यदिशा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए।
निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे। बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्नु राम्रो पक्ष भएको उनले बताए।
‘१२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य राखेको देखियो। निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो। बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो,’ उनले भने, ‘त्यसले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गरेको देखियो। विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ। यसरी हेर्दा मौद्रिक नीतिले बैंकहरूको कर्जा विस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिन्छ।’
विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताउँदै उनले समग्रमा मौद्रिक नीति बैंकहरूको कर्जा विस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको जिकिर गरे।
अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको पनि बताए। ‘निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गर्ने भनिएको छ। मौद्रिक नीतिले सकारात्मक देखिएको छ। शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ। त्यसले पनि मौद्रिक नीति सकारात्मक छ,’ उनले भने, ‘निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो। त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ। मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको छ। मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरू सर्कुलरमा नआउने गरेको छ।सर्कुलरमा पनि त्यही अनुसार आउनुपर्छ।’
उनले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको पनि बताए।