July 25th, 2024

एकैदिन ४ अर्बले घट्यो बैंकिङ निक्षेप

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीको निक्षेप ६४ खर्ब ४९ अर्ब रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन ७ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ४९ अर्ब निक्षेप संकलन भएको हो । साउन ६ गते ६४ खर्ब ५३ अर्ब संकलन भएको थियो । तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एक दिनमा ४ अर्बले निक्षेप संकलन घटेको छ। यसैगरी, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ४ अर्बले घटेको छ।

असार ६ गते ५७ खर्ब ५३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ७ गते भने ५७ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेका छन्। त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्बले बढेको छ। आइतबारसम्म ५१ खर्ब ४० अर्ब प्रवाह भएकोमा सोमबार ५१ खर्ब ४१ अर्ब कर्जा प्रवाह भएको छ।

सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि १ अर्बले नै बढेको छ। आइतबार ४५ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले सोमबार ४५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७७.९५ बाट बढेर ७८.१ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतबाट घटेर २.९७ प्रतिशत कायम भएको छ ।