July 21st, 2024

आरपिएसबाट गत आवमा ५७ खर्बको कारोबार

बैंकिङ खबर/ आर्थिक वर्ष ०८०/८१ मा राष्ट्रिय भुक्तानी स्विचअन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपिएस)मार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमका आधारमा आरपिएसको कारोबारमा क्रमशः ४९ र ३८ प्रतिशतले वृद्धि भएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले जनाएको छ ।

बैंक–वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायका वालेट, क्यापिटल मार्केट, इन्स्योरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल सरकारसमेतको सबैजसो कारोबार प्रोसेस तथा क्लियरिङ आरपिएसबाटै हुँदै आएको छ । उक्त निकायलाई आरपिएसमा नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)मार्फत इन्टिग्रेट गरिएको छ । फन्ड ट्रान्सफर, प्रकारको बिल पेमेन्ट, क्युआर भुक्तानीलगायतका कारोबार जुनै च्यानलबाट गरिए पनि आरपिएसबाट प्रोसेस हुँदै आएको छ ।

एनसिएचएलका सञ्चालनमा रहेका च्यानल प्लेटफर्म जस्तै बैंक–वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पाेरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारसमेत आरपिएसबाट प्रोसेसिङ भइरहेको बताइएको छ ।

राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच लागू गर्न एनसीएचएललाई स्वीकृति दिएपश्चात् उक्त परियोजनाको पहिलो पूर्वाधारका रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्विच नेपालमा नै निर्माण गरी ०७८/७९ देखि सञ्चलान गर्दै आएको छ ।