July 19th, 2024

कर्जाको माग र लगानीको सहजताका लागि वित्तीय पूर्वाधारको विकास आवश्यक : नरबहादुर थापा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक तथा मौद्रिक विज्ञ नरबहादुर थापाले नेपालको अर्थतन्त्रका लागि वित्तीय पूर्वाधारको विकास खाँचो रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकमा अधिक तरलता पनि थुप्रिने तर कर्जा माग नहुने समस्याको गाँठो फुकाउनका लागि नयाँ शिराबाट वित्तीय पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

‘मौद्रिक नीति भनेको समष्टिगत आर्थिक स्थायित्वका लागि नीति तर्जुमा गर्ने कार्य हो । बजेट जस्तो मौद्रिक नीतिको सामाजिक र राजनीतिक उद्देश्य हुँदैन । केबल बाह्य र आन्तरिक अर्थतन्त्रको सुधारका लागि अवलम्बन गरिने व्यापार, मुद्रास्फीति र वित्तीय स्थायित्वलाई यसले गाइड गर्ने गर्छ । यसो गर्दा मुलुकको आर्थिक स्थिति बिग्रन दिँदैन थप बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यमा सघाउ पुर्‍याउँछ’ थापाले भने, ‘महत्त्वपूर्ण पक्ष कर्जाको व्यवस्थापन हो । क्रेडिट एलोकेशन, उद्यमशीलताको विकासमा, राष्ट्रिय उत्पादन, उत्पादकत्व वृद्धिमा कर्जाको समुचित वितरण भएको छ कि छैन यो पनि मौद्रिक नीतिको दायरामा पर्छ । तर, अहिले बजारको शिथिलताका कारण कर्जा उपभोग घटेको छ । बैंकहरुले अधिक तरलता होल्ड गरिराख्दा पनि मागमा वृद्धि आउन सकेको छैन । यसको गाँठो फुकाउन पनि मौद्रिक नीतिले काम गर्नुपर्ने अवस्था छ । वित्तीय पूर्वाधारको विकास गर्न आवश्यक छ।’