बैंकिङ खबर/ पूर्वबैंकर भुवन कुमार दाहालले नेपालको वित्त क्षेत्र र कर्जा प्रवाहको स्थिति हेर्दा २० वर्ष अवधिमा औषत १९ प्रतिशतले कर्जा लगानी वृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्रीय बैंकले तयार गरिरहेका मौद्रिक नीतिको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा दाहालले यस्तो बताएका हुन् ।
यस्तै पछिल्लो वर्ष २०८०/८२ मा करिब ६ प्रतिशत मात्र क्रेडिट ग्रोथ हुँदा ३ प्रतिशत हाराहारी मात्र आर्थिक वृद्धि हुन सकेको उनको भनाइ छ । तर, सरकारले बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । सोही लक्ष्यलाई निरन्तरता दिँदै सरकारले आर्थिक वर्ष २०८१/८२ मा पनि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताइएको छ ।
अहिलेको ५३ खर्बमाथिको जीडीपीको आधार मान्दा बैंकहरुले गरेको कर्जा लगानी कम भएपनि वास्तविक ४२ खर्ब हाराहारीको जीडीपीमा भने राम्रो रहेको दाहालले बताए । ‘बरु कम भएको पर क्यापिटा इनकम (प्रतिव्यक्ति आय) मा हो । कर्जा लगानी त राम्रो नै छ । नेपालको वास्तविक जीडीपीको आधार ४२ खर्ब हाराहारी मात्र हो’, दाहालले भने ।
६ प्रतिशतको आर्थिक वृद्धिका लागि राष्ट्र बैंकले लिने कर्जा नीतिमा पनि भर पर्ने उनले बताए । जम्मा ४२ खर्ब हारहारीको सानो जीडीपी भएको मुलुकमा योभन्दा बढी लगानी गर्दा पनि खास उपलब्धि हासिल हुने स्थिति नरहेको उनले बताए । आर्थिक वृद्धिका लागि पनि नेपालले जीडीपीको आकार बढाउनुपर्ने दाहालले बताए । यसका लागि निजी क्षेत्रको लगानीका साथसाथै सरकारले विदेशी लगानी (एफडीआई) लाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।