July 18th, 2024

बजेटको खाडल चिर्ने गरी मौद्रिक नीति आउनुपर्छ : स्वर्णिम वाग्ले

बैंकिङ खबर/ अर्थविद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटमा तत्कालको समस्या सम्बोधन गर्ने कुरा नरहेको बताएका छन् ।

‘नीति मन्थन’ नाम दिइएको मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति वाग्लेले दीर्घकाल र मध्यकालको लागि राम्रो भए पनि तत्कालका लागि अहिलेको बजेटले समस्या समाधान नगर्ने दाबी गरे ।

‘अहिलेको बजेट दीर्घकाल र मध्यकालको लागि राम्रो भए पनि तत्कालको समस्या सम्बोधन गर्ने कुरा छैन,’ उनले भने, ‘त्यसैले त्यो खाडल चिर्ने गरी मौद्रिक नीति आउन पर्छ ।’

भारत र नेपालको मुद्रा बीच पेग गरेको ३० वर्ष भएकाले त्यसमा पनि रिभ्यु गर्नु आवश्यक रहेको उनले बताए । उनले राष्ट्र बैंकमा विदेशी डलर धेरै थुप्रिएको र त्यसरी थुप्रिनु राम्रो नभएको पनि बताए । ‘इतिहासमै यति धेरै डलर राष्ट्र बैंकमा थुप्रिएको थिएन,’ उनले भने, ‘यसरी पैसा धरै थुप्रनु राम्रो हैन । यसको प्रयोग गर्नु पर्छ ।’ त्यसरी थुप्रिएको डलरको प्रयोग गरी नेपालीलाई बाहिर देशमा लगानी गर्न सहज र वैदेशिक लगानीलाई पनि नेपालमा सहजीकरण गर्न जरुरी रहेको उनले औँल्याए ।