बैंकिङ खबर/गत आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा कारोबारमा केही सुधार भएको देखिएको छ । आव २०७९/८० को तुलनामा गत आव घरजग्गा कारोबारमा हुने लिखित पारित १५.६२ प्रतिशतले बढेर ५ लाख ३५ हजार ६ सय ७ पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
२०७८/७९ को तुलनामा गत आव लिखत पारित ३८ प्रतिशतले घटेर ४ लाख ६३ हजार ३ सय २२ मा सीमित थियो । २०७८/७९ मा ७ लाख ४५ हजार लिखत पारित भएको थियो ।
गत आव साढे १५ प्रतिशतभन्दा बढीले लिखत पारित भएको छ । सरकारले प्राप्त गर्ने राजस्व भने ३ प्रतिशतले मात्रै बढेको विभागले जनाएको छ । २०७८÷७९ मा ५७ अर्ब ६६ करोड ९९ लाख बराबर मालपोत कर संकलन भएको थियो ।
२०७९÷८० मा यस्तो राजस्व २९ प्रतिशतले घटेर ४१ अर्ब १५ करोड ७६ लाख राजस्व संकलन भएकोमा गत आव भने सामान्य बढेर ४२ अर्ब ४२ करोड १ लाख पुगेको छ ।
असारमा मात्रै ५ अर्ब २ करोड ३६ लाख राजस्व संकलन हुँदा जेठमा ४ अर्ब ३३ करोड ९२ लाख र वैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख मालपोत कर संकलन भएको छ । २०७९/८० असारमा ४ अर्ब २७ करोड ४३ लाख, जेठमा ३ अर्ब ७५ करोड ६० लाख र वैशाखमा ३ अर्ब ४८ लाख मालपोत कर संकलन भएको थियो ।
२०७९ चैतमा ४ अर्ब ५१ करोड २७ लाख राजस्व संकलन हुँदा २०८० चैतमा ३ अर्ब ९४ करोड ८१ लाख संकलन भएको थियो । गत आव समग्रमा लिखत पारित बढे पनि आव अन्तिम महिना भने बढ्न सकेन । २०८०/८१ माघमा ५० हजार ९ सय २१, फागुन ५० हजार ९ सय ९८, चैत ५० हजार २ सय ५२ र वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएको थियो ।
जेठमा बढेर ६१ हजार १ सय ६१ लिखत पारित भएकोमा असार घटेर ४४ हजार ५ सय ७९ मात्रै पारित भएको विभागले जनाएको छ । २०७९/८० असारमा ४४ हजार ४ सय ८५ लिखत पारित भएकोमा गत आवमा सामान्य मात्रै बढेको छ । सोही वर्ष जेठमा ५५ हजार ६९, वैशाख ४२ हजार २ सय ६१, चैत ४९ हजार १ सय ५०, फागुन ४० हजार ७ सय ३४ र माघमा ४१ हजार ८६ लिखत पारित भएको थियो ।
२०७९/८० असारमा कारोबार बढ्न नसके पनि राजस्व भने बढेको छ । उक्त अवधिमा कुल ४२ अर्ब ४२ करोड राजस्व संकलन हुँदा असारमा मात्रै ५ अर्ब २ करोड राजस्व संकलन भएको छ ।
२०७९/८० असारमा ४ अर्ब २७ करोड ४३ लाख राजस्व संकलन भएकोमा गत असारमा १७.५३ प्रतिशतले बढेको हो । असारमा लिखत पारित भने ०.२१ प्रतिशतले मात्रै वृद्धि भएर ४४ हजार ५ सय ७९ पुगेको छ । २०७९/८० असारमा ४४ हजार ४ सय ८५ लिखत पारित भएको थियो । रजिस्ट्रेसन दस्तुर र पूँजीगत लाभकर दुवैमा भएको वृद्धिले राजस्व बढेको हो । असारमा मात्रै २ अर्ब ९५ करोड ३५ लाख रजिस्ट्रेसन दस्तुर र १ अर्ब ७२ करोड ४७ लाख ६८ हजार राजस्व बढेको छ ।