बैंकिङ खबर/ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंकिङ क्षेत्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताएका छन् । नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट्न पुगेका नेपाल बैंकर्स संघ प्रतिनिधिसँगको छलफलमा उनले सरकारबाट समस्या समाधानका लागि उचित पहल हुनेमा आफूहरू आशावादी रहेको बताए ।
उनले भने,‘बैंकिङ क्षेत्र अप्ठ्यारोमा छ । केहीले सडकबाट ऋण तिर्दिन भन्न थालेका छन् । बैंकको नाफा घटेर करिब आठ प्रतिशत हाराहारीमा खुम्चिएको छ । बाफिया विधेयकमा भएका व्यवस्थाले संस्थागत लगानीकर्ता पनि उत्साहित छैनन्’, उनले भने,‘खराब कर्जा बढेको छ । बैंक वित्तीय संस्थासँग करिब रु छ खर्ब बराबर तरलता छ, तर लगानी गर्नसक्ने अवस्था छैन । बैंकको मनोबल निकै घटेको छ ।’ बैंकहरूले महंगो ब्याजदरमा निक्षेप उठाएर सस्तोदरमा राष्ट्र बैंकमा थुपार्नुपर्ने अवस्था रहेको उनले बताए ।
निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने रकम भुक्तानी भएको अवस्थामा र विभिन्न क्षेत्रका दिइएको अनुदानको रकम सरकारले भुक्तानी गरेमा बैंकिङ क्षेत्रलाई सहज हुने उनले बताए ।




