बैंकिङ खबर/नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेको छ । मन्त्री पौडेलाई भेटेर संघले बधाई तथा शुभकामना प्रदान गरेको हो ।
संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीका विषयमा जानकारी गराए ।
साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिपेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने धारणा राखे ।
संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले पु¥याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ सबै अग्रसर हुनुपर्ने बताए ।
उनले बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको बताए ।