July 15th, 2024

नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाएर १९ करोड ऋणः एकदेखि चार वर्षसम्म कैद सजाय

बैंकिङ खबर/ नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइ कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको मुद्दामा विशेष अदालतले सजाय सुनाएको छ । २३ असारमै कसूर कायमको फैसला भए पनि आइतबार भने सजाय निर्धारण भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक वर्ष अघि मुद्दा दायर गरेकोमा एक कम्पनीसहित नौ जना दोषी ठहर भएका थिए । दुई जनालाई भने सफाइ दिइएको थियो ।

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई जनही दुई वर्ष कैद हुने भएको छ भने सात करोड ६० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

यसैगरी विल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल, मेरलाइन इन्टरप्राइजेज र यसका उविन्द्रराज शाक्यलाई भने विशेषले जनही चार वर्ष कैद तथा सात करोड ६० लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।

यस मुद्दामा रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानको हकमा एक–एक वर्ष कैद तोकिएको छ भने उनीहरुले जरिवानावापत तीन करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । यस प्रकरणमा मेरलायन इन्टरप्राइजेज र यस कम्पनीका उविन्द्रराज शाक्य दोषी ठहर भएका थिए भने मुक्तिनाथ गौतम, एसकुमार महर्जन र विल्वा भूमि वन प्रा.लि.का नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाललाई मुख्य कसूरदार मानिएको थियो ।

विभागले २१ असार ०८० मा ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।

विशेषले रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई मतियार मान्दै सजाय निर्धारण गरेको हो । विल्वा कम्पनीका नाममा दर्ता रहेको १२ रोपनी एक आना जग्गा डेनियल कम्पनी प्रा.लि. का नाममा रहेको भनी किर्ते जग्गाधनी पूर्जा खडा गरिएको विभागको अनुसन्धानले देखाएको थियो । उक्त जग्गा धितो राखी कुमारी बैंक न्यूरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यस प्रकरणमा जिल्ला अदालत काठमाडौंबाटसमेत फैसला भइसकेको छ । डेनियल कम्पनीका सञ्चालकहरु गौतम र महर्जनले आफ्नो कम्पनीका नाममा जग्गा खरिद गर्न मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई अख्तियारी दिएका थिए । तर उनले विल्वाको जग्गा बिक्री गर्न भनी आफ्नो नाममा नक्कली अख्तियारी बनाइ झुठा जग्गाधनी प्रमाणपूर्जासमेत खडा गरेको भेटिएको थियो ।

उक्त नक्कली जग्गाधनी प्रमाणपूर्जाका आधारमा ऋण लिइएको थियो भने रेसमबहादुर सिलवालसमेतले विल्वाका नाममा नक्कली बैंक खाता खोले र उक्त खातामा पैसा जम्मा गरेका थिए । रकममध्ये १५ करोड रुपैयाँ भने मेरलायन इन्टरप्राइजेजको नाममा ट्रान्सफर गरेर उक्त खाता बन्द गरिएको भेटिएको थियो ।