July 14th, 2024

मौद्रिक नीतिमा आर्थिक वृद्धि र बृहत्तर स्थायित्वमा जोड दिन विज्ञका सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको छ । राष्ट्र बैंकलाई अर्थविद् र सरोकारवालाहरुले संघीय अर्थव्यवस्था सुहाउँदो र बन्दाबन्दी र कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई गतिशील बनाउन सघाउ पुग्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।

अर्थशास्त्री डिल्लीराज खनाल हालसम्मको मौद्रिक नीतिले मागको व्यवस्थापनमा ध्यान दिएको बताउँछन् । अबको नीति यस सीमाभन्दा अघि बढेर मागको सिर्जना गर्न सक्नुपर्ने उनको जोड छ ।

विप्रेषणको आधारमा अर्थतन्त्रका अन्य तहतप्कालाई घिसार्दै अघि बढाउने हालसम्मको नीतिको जोड रहेकोमा अबको मौद्रिक नीतिले सीमान्तकृत तहका समस्या सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई अघि बढाउन पुनर्कर्जालाई विस्तार गर्नुपर्ने र तल्लो वर्गको पहुँचमा पु¥याउनुपर्ने, अनुत्पादक खर्चलाई नियन्त्रण गर्नुपर्ने र तरलता बढाउन जोड दिनुपर्ने उनको धारणा छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसन्धानकर्ता विशाल चालिसेले हालसम्मको मौद्रिक नीतिले प्रशासनिक व्यवस्थापनको पाटोमा मात्र ध्यान दिएको बताउँदै अबको नीतिले आर्थिक वृद्धि र बृहत्तर स्थायित्वमा जोड दिनुपर्ने बताउँछन् । आगामी नीतिले संघीय सरकारको समस्या समाधानका उपाय मात्र हेर्ने नभइ प्रादेशिक र स्थानीय तहको विषयवस्तु पनि समेट्नुपर्ने उनको भनाइ छ।

अर्थशास्त्री केशव आचार्यले यसवर्षको बजेटमा केही प्रदेशहरुले आन्तरिक ऋण परिचालन गर्ने प्रावधान राखेकोले मौद्रिक नीतिले आवश्यक व्यवस्थाद्धारा त्यसको स्पष्ट मार्गदर्शन गर्नुपर्ने बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा कोरोनाका कारण थलिएको कृषि, पर्यटन, घरजग्गा, यातायात र घरेलु एवं साना उद्योग लगायतका क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले बजेटमार्फत ल्याएको कार्यक्रमलाई सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउनु पर्ने बताउँछन् ।