बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बचतपत्रको अवधि परिपक्व भएपनि लगानीकर्ताहरु रकम लिन नआएको बताएको छ । जेठसम्म करिब १५ करोड रुपैयाँ भुक्तान हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउन विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जस्ता उपकरण प्रयोग गर्ने गर्दछ ।
यस्तो उपकरणमा लगानी गरेका केही लगानीकर्ताले परिपक्व अवधि पूरा भइसक्दा पनि आफ्नो पैसा लिन आएका छैनन् । धेरै नागरिकलाई परिपक्व अवधिबारे जानकारी नभएर, लगानीकर्ताको मृत्यु भएर, अदालत तथा अख्तियारको आदेश, नेपाल बाहिर रहेरलगायत कारण नागरिक परिपक्व भएको रकम पनि भुक्तानी लिन नआएको राष्ट्र बैंकको भनाइ छ ।
हालसम्म भुक्तानी हुन बाँकी यस्तो रकम करिब १४ करोड ९० लाख रुपैयाँ छ । त्यसमध्ये सबैभन्दा धेरै नागरिक बचतपत्रमा ९ करोड ९३ लाख, वैदेशिक रोजगार बचतपत्रमा ९१ लाख र विकास ऋणपत्रमा ४ करोड ६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । यसकारण राष्ट्र बैंकले सूचना जारी गरेर पैसा भुक्तानी लिन आउन लगानीकर्तालाई आह्वान गरेको छ ।
‘नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरूले ०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशिघ्र भुक्तानी लिनुहुन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
गत चैत १९ देखि सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउँदै आएको छ । त्यसअघि आन्तरिक ऋण उठाउने काम राष्ट्र बैंकले गर्दै आएको थियो । अब आफूले आन्तरिक ऋण उठाउने काम गर्न छोडेपछि हालसम्म परिपक्व भएको ऋणपत्र÷बचतपत्रको दायित्व पनि आफैं भुक्तानी गरेर राफसाफ गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।