July 12th, 2024

रिलायन्सको आईपीओमाथि सीआईबीको छानबिन

बैंकिङ खबर/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणलाई निष्काशन गर्न लागेको आईपीओसँग जोडिएका बिषयमा अनुसन्धान थालेको छ। नियामकसँगको मिलोमतोमा महँगो मूल्य निर्धारण गरिएको भन्दै सीआईबीमा उजुरी परेपछि अनुसन्धान अगाडि बढेको हो।

सीआईबी स्रोतकाअनुसार यहि साता बुधबार परेको उजुरीको आधारमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । ऐनको पालना गर्दै पहिलो चरणमा थप जानकारी लिनलाई धितोपत्र बोर्डलाई पत्राचार गरिएको छ। बुक बिल्डिङमा सामेल संस्थागत लगानीकर्ताको निर्णय, मूल्य तय बिधि र मूल्य, लगानीको सुरक्षालगायत विषय शंकास्पद रहेको भन्दै सीआईबीमा उजुरी परेको थियो।

रिलायन्सले फर्जी कागजात पेश गरेर महँगो मुल्य निर्धारण हुनलाई सम्भव भन्ने कुरा उजुरीपत्रमा उल्लेख गरिएको बुधबार धितोपत्र बोर्डलाई सीआईबीले लेखेको पत्रमा उल्लेख छ। नेपाल धितोपत्र ऐनको संशाेधित व्यवस्थाअनुसार उजुरी परेपछि अनुसन्धान अघि बढाउँनलाई धितोपत्र बोर्डको अनुमति लिनु पर्ने कानूनी व्यवस्था छ।

रिलायन्सले बिहीबारबाट लागू हुने गरी कम्पनीको ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको थियो । आइपीओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ निर्धारण गरेको थियो ।