July 14th, 2024

कस्तो आउनुपर्छ मौद्रिक नीति ? यस्ता छन् निजी क्षेत्रका आशा र अपेक्षाहरु

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिखेर आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । राष्ट्र बैंकले साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । मौद्रिक नीति ल्याउन अघि राष्ट्र बैंकले विभिन्न निजी क्षेत्र, सरकारलगायतसँग सुझावहरु संकलन गरेको छ । यही बेला निजी क्षेत्र भने मौद्रिक नीतिले आफ्ना समस्या समाधान गर्ने आशामा छ।  अर्थतन्त्र चलायमान नभएको भन्दै उनीहरुले लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आग्रह गरिरहेका छन् ।

यस्तै अर्थ सचिव मधु कुमार मरासिनी अहिलेको अवस्थामा व्यवसायीको मन जित्ने र लगानी बढाउने गरी मौद्रिक ल्याउनुपर्ने बताउँछन् । लगानी गर्न उत्साहित हुने गरी मौद्रिक नीति ल्याउनु पर्ने उनको सुझाव छ । उनले अहिलेको अर्थतन्त्रलाई सुधार ल्याउन र निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीतिबाट सबैले अपेक्षा गरेको र त्यो विश्वास जित्नेगरी आउनुपर्ने बताए । अहिलेको बजेटले सूचना प्रविधिलाई प्राथमिक दिएको हुँदा त्यसमा लगानी बढाउनेगरी आउनु पर्ने उनको भनाइ छ ।

मौद्रिक नीतिमा निजी क्षेत्रका अपेक्षा 

‘मौद्रिक नीति व्यवसायीलाई बचाउने गरी आउनुपर्छ ‘

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल आगामी मौद्रिक नीति निजीले निजी क्षेत्रको माग समेट्नुपर्ने बताउँछन् । उनी भन्छन्,’बजार चलायमान छैन। उद्योग क्षमताअनुसार चल्न सकेको छैन। कर्जा लक्ष्यअनुसार विस्तार भएको छैन। मौद्रिक नीति बैंक तथा वित्तीय संस्थासँगै व्यवसायीलाई पनि बचाउने गरी आउनुपर्छ। मौद्रिक नीति सञ्जीवनी बुटी बनोस्। आगामी मौद्रिक नीति थप लचिलो बनोस् ।’

कुनै पनि देशको विदेशी मुद्रा सञ्चिति बढी हुनु देशको लागि राम्रो नभएको उनको भनाइ छ । अहिले नेपालको विदेशी मुद्रा सञ्चिति बढे पनि उपयोगबारे उचित नीति नबनेको उनको धारणा छ। विदेशी मुद्रालाई परिचालन गर्ने गरी वित्त नीतिले निजी क्षेत्रका माग मौद्रिक नीतिले समेट्नुपर्नेमा उनको जोड छ ।

’निक्षेपको ब्याजदर घटे पनि कर्जाको माग बढाउन ब्याजदर अझै घट्नुपर्छ। पर्यटन सहज र सुलभ हुनुपर्छ। नगद प्रवाहमा भएको समस्याले उद्योगको उत्पादन क्षमता घटेको छ,’ उनले भने ।

मौद्रिक नीतिमा आयात प्रतिबन्धको सच्याउन माग

उद्योगी विनोदकुमार चौधरी कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिबन्धको नीति आगामी मौद्रिक नीतिमार्फत सच्याउन आग्रह गर्छन् । मुलुकको बाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठिक समय आएको उनको भनाइ छ ।

उक्त नीतिको कारण मुलुका आयात नबढ्दा राजश्व लगायत क्षेत्रमा असर परेको दाबी पनि गरे। उनले अर्थतन्त्रको वाह्य क्षेत्र परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समय अनुुसार करेक्शन गर्न नसकेको उनको भनाइ छ । उनले उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको बताए। यसले गर्दा अप्रत्यासित रुपमा सरकारको आन्तरिक ऋण समेत बढ्दै गएको उल्लेख गरे।

उनले बैंकको कर्जा सबै अनउत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जना समेत हुन नसकेको बताए। पछिल्लो समय साना तथा घरेलु उद्योगहरु सबै भन्दा बढी प्रभावित र विस्थापित भएको सांसद चौधरीले उल्लेख गरे। उनले मौद्रिक नीति लगानी, माग वृद्धि,पुँजी चलायमान बनाउने मुख्य माध्यम भएको बताए।

‘निजी क्षेत्रको सुधार हुने गरी मौद्रिक नीति आउनुपर्छ’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकहरु आफ्नै समस्यामा रहेपनि समग्र निजी क्षेत्रकै सुधारका लागि राष्ट्र बैंकसँग लविङ गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘हामी बैंकिङ क्षेत्र पनि निजी क्षेत्रसँगसँगै छौँ । निजी क्षेत्रको सुधार विना बैंकिङ क्षेत्र अघि बढ्न सक्दैन । त्यसैले हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको सुधार नै हो, हामीले मौद्रिक नीतिमा यो क्षेत्रको सुधारका लागि निरन्तर सुझाव दिइरहेका छौँ ।’

‘अटो सेक्टरमैत्री नीति ल्याउनुपर्छ’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी मौद्रिक नीतिमा ७ बुँदे सुझाव दिएको छ। नाडाले विद्युतीय गाडीमा जस्तै पेट्रोल डिजेलका गाडीमा पनि सुविधा दिन राष्ट्र बैंकसँग माग गरेको हो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अहिले अटोमोबाइलमैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको बताएका छन्। चौधरीले आगामी नीतिले समग्र अटो क्षेत्रमा सुधार नल्याए स्थिति अझै भयावाह हुने दाबी गरेका छन्।

नाडाले अटोमोबाइल सेक्टरमा आर्थिक सुस्ततासँगै अटो सेक्टरमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहँदा समग्र अटोमोबाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको छ भने यो क्षेत्रले अहिले १४ प्रतिशत मात्र जीडीपीमा योगदान गरेको छ। जुन एक समयमा २१ प्रतिशतसम्मको योगदान हुने गरेको नाडाले उल्लेख गरेको छ।

धितोपत्र बजारलाई बलियो बनाउन माग

पूँजीबजार सम्बद्ध चार वटा संगठनले नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने एक दर्जन सुझाव दिएका छन् । ती लगानीकर्ता संगठनले आगामी दिनमा मौद्रिक नीति मार्फत धितोपत्र बजारलाई बलियो बनाउनका लागि सुझाव दिएका हुन् ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय पेस गर्न आग्रह गरेपछि नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टमेन्ट एशोसिएशन, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा विभिन्न सुझाव दिएका हुन्।

सुझावमा मार्जिन प्रकृतिको कर्जामा पछिल्लो आर्थिक वर्षमा गरिएको प्रत्यक्ष नियन्त्रणमुखी नीति अधिकतम १५र२० करोडको सीमा लाई तत्काल हटाई पूर्ववत कायम गर्नुपर्ने, धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको जोखिमभार १०० प्रतिशतमा झानुपर्ने भनिएको छ।

यस्तै, मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्नुपर्ने विषय पनि समटिएको छ। त्यस्तै, गैर बैंकिङ्ग वित्तीय संस्थाको अनुमति पत्र लिएका धितोपत्र दलालले योग्यताअनुरुप बैंकिङ्ग कारोबार गर्ने वित्तीय संस्थामार्फत क्यास क्रेडिट यासिलिटी लिन पाउने व्यवस्था सुनिश्चित गर्न लगानीकर्ताले माग राखेका छन्।लाभांश वितरण नीति पब्लिक कम्पनीको निजी विषय भएको हुँदा लाभांश वितरणमा नियन्त्रण र हस्तक्षेप गर्न नहुने पनि उनीहरुको सुझाव छ ।

 प्रकृति हेरेर केही समयका लागि कर्जा पुनर्तालिकीकरण गर्न  आग्रह

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उद्योग तथा व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट कर्जाको पुनर्तालिकीकरण गर्न सके पीडित उद्यमी तथा व्यवसायीमा आत्मविश्वास सिर्जना हुने र धराशायी हुनबाट जोगिने चेम्बरको दाबी छ ।

चेम्बरले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९बुँदे सुझाव राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बुझाएको छ । आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी आगामी मौद्रिक नीति ल्याउन चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले गर्भनर अधिकारीलाई आग्रह गरे । ‘कालोसूचीमा पर्न लागेका उद्यमी व्यवसायीलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्थासंगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनर्तालिकीकरण गर्न सके पीडित उद्यमी व्यवसायीमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिन्छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने भएकाले गर्भनरसमक्ष विभिन्न नीतिगत सुझाव पेश गरेका छौं,’ चेम्बर अध्यक्ष अग्रवालले भने, ‘आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण हुन सकेको छैन ।’

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल उच्च राख्न विगतका दायित्व भुक्तानीका लागि उद्योग व्यवसायको प्रकृति एवं अवस्था हेरेर आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न पनि चेम्बरको आग्रह छ । निजी क्षेत्रमा जाने कर्जालाई सहजीकरण भए अधिक तरलताको समस्या हल हुने चेम्बरको भनाइ छ । घरजग्गा कारोबारलाई थप गति दिन ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा शतप्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरले जनाएको छ । घरजग्गाको कर्जा प्रवाहमा हुने मुल्यांकनको सीमा ७०–३० बाट बढाएर ८०–२० को रेसियो कायम गरिनुपर्नेमा पनि चेम्बरको जोड छ ।

बैंक ब्याजदरलाई अनुशासित गर्न सक्ने गरी नीतिगत व्यवस्था गर्न सुझाव

नेपाल उद्योग परिसंघले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिदै आर्थिक गतिविधिमा महिनौंदेखि कायम शिथिलता र उद्योग व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभावलाई ध्यानमा राख्दै मौद्रिक नीति ल्याउन सुझाव दिएको हो ।

मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मागमा आएको अभुतपूर्व संकुचनले अर्थतन्त्र विस्तार हुन नसकेको अवस्थामा त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने विश्वास गरिएको बताए । उनले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको समीक्षामार्फत केही सुधार गर्न खोजिएपनि चाहेको जस्तो सुधार नआएकाले आगामी नीति औद्योगिक वातावरणलाई सघाउने खालको आउनेमा आशावादी रहेको बताए ।

विदेशी मुद्राको संचिती पुनः स्वस्थ अवस्थामा आइपुग्नुका साथै प्रणालीमा तरलताको पनि यतिबेला समस्या छैन । यसका बाबजुद अहिले बैंकहरुको कर्जा प्रवाह न्यून छ । बजार माग पनि ज्यादै न्यून छ । उपभोक्ता बजार लगातार उदासिन भइरहँदा उद्योगहरु पनि न्यून क्षमतामा संचालन भइरहेका छन् । यो पृष्ठभूमिमा आगामी आर्थिक वर्षलाई अर्थतन्त्रका लागि उपलब्धीमुलक बनाउन र आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटका लक्ष्यहरु हासिलमा समेत सघाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता छ । आगामी नीतिले सुझबुझपूर्ण र समयसापेक्ष नीतिगत कदम चाल्दै निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने वातारण निर्माण गर्ने र यसबाट नयाँ रोजगारीहरु सिर्जना तथा बजार मागमा वृद्धिमार्फत अर्थतन्त्रको पुनरुत्थानमा सहयोगी हुने अपेक्षा परिसंघको छ ।

परिसंघले प्रमुख मौद्रिक उपायहरु, समष्टिगत विवेकपूर्ण मौद्रिक उपायहरु र संरचनागत सुधारका विषयमा राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघले राष्ट्र बैंकले नीतिगत दर घटाउँदा समेत त्यो बैंक ब्याजदरमा प्रतिबिम्बित हुन नसकेको, बरु उल्टै बैंक ब्याजदर घट्नुविपरित बैंकहरुले बढाएको देखिएको अवस्थामा बैंक ब्याजदरलाई अनुशासित गर्न सक्ने गरी नीतिगत दरलाई प्रभावकारी बनाउन सुझाव दिएको छ । वैधानिक तरलता अनुपात (एसएलआर) लचिलो रहने, अन्तर्राष्ट्रिय अभ्यास अनुरुप हुनेगरी आधार दरको उन्नत विकल्पमा जान, राष्ट्र बैंकले हाल लागु गरेको ०.५% काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीबी) स्थगन गर्न, निर्देशित क्षेत्रको लगानी सीमा घटाउन परिसंघले सुझाव दिएको छ ।

के हो मौद्रिक नीति ?

सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय अर्थात मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रीय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । बजारमा मुद्रा आपूर्ति बढी भयो भने महँगी बढ्न जान्छ । उदाहरणको लागि यदि रामसँग आवश्यकताभन्दा बढी सम्पत्ति छ भने उसले आफूले मन परेको कुरा किन्नको लागि जति नै तिर्नुपरे पनि तयार हुन्छ ।

यसरी सबै धनाढ्यले बढी मूल्य तिरेर सामान किन्दाकिन्दै बजार भाउ नै सोही अनुसार कायम हुन गई स्वतः मूल्यवृद्धि हुन्छ । यस्तो समस्या नआओस् भन्नाका खातिर नेपाल राष्ट्र बैँकले सिमीत मात्रामा मात्रै बजारमा रकम पठाउँछ । यसरी मुद्राप्रदाय नियन्त्रणमा रहँदा मुल्यवृद्धि नियन्त्रणमा रहने र अन्ततः मुद्रास्फिती व्यवस्थापन हुने हुन्छ । यी कुराहरुको नियन्त्रण र नियमन नीतिगत तवरले गर्नका लागि नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको सुरुवातमा मौद्रिक नीति ल्याउने गर्दछ ।

मौद्रिक नीति केन्द्रीय बैँकले जारी गर्ने एक मात्र नीति हो, जसभित्र वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमनसम्बन्धि नीति पर्दछ ।

यस्ता नीतिहरु समयको माग र आवश्यकताअनुसार परिवर्तन गर्दै जानुपर्ने भएकाले राष्ट्र बैंकले हरेक वर्ष आवश्यक परिमार्जन सहितको नीति ल्याउने गर्दछ । हाल नेपाल राष्ट्र बैंकले नियम गर्ने बैंक तथा वित्तीय संस्थालाई क, ख, ग र घ गरी चार भागमा विभाजन गरिएको छ । क वर्गका बैंकहरु वाणिज्य बैंकहरु हुन् । नेपालमा हाल २० वटा वाणिज्य बैंकहरु रहेका छन् । त्यस्तै, ख वर्गका बैंकहरु विकास बैंकहरु हुन् । त्यस्तै, ग वर्गका वित्तीय संस्था अर्थात फाइनान्स कम्पनीहरु हुन् भने घ वर्गका बैंक अर्थात माइक्रोफाइनान्स हुन्  । यसरी, ससानादेखि ठूलो पुँजीसम्मको कारोबार गर्ने वित्तीय संस्थाहरुको नियमन गर्नका लागि मौद्रिक नीति बनाइन्छ ।